एउटा ग्यास कम्पनीको सिलिण्डर अर्कोसंग साट्दा ५ सय तिर्नुपर्छ, यसलाई हटाईयोस्ः एमाले सांसद देवकोटा

नेकपा एमालेकी सांसद सम्झना देवकोटाले बजारमा ग्यास पाउन नै मुस्किल बन्न थालेको बताएकी छन् । राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विशेष समयमा उनले बजारमा धेरै ग्यास कम्पनीहरु भएपनि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको गुनासो गरे । उनले ग्यास पाएपनि कम्पनीहरुले अर्को कम्पनीको सिलिण्डर साटासाट गर्न नमानेको बताए । केही साटेपनि अतिरिक्त पाँच सय रुपैयाँ शुल्क बुझाउनुपर्ने हुँदा उपभोक्ता थप पीडित भएको उनको भनाई छ । ग्यास कम्पनीहरूबीच समन्वय गरी उपभोक्तालाई अतिरिक्त शुल्क बिना सहज रूपमा सिलिण्डर साट्न पाउने व्यवस्था मिलाउन उहाँले सरकारसँग माग गरे ।

मध्यपूर्वको द्वन्द्वले पेट्रोलियम पदार्थ र ग्यासको मूल्यमा भएको वृद्धिले नेपालमा महँगी चुलिएको बताए । दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढ्दा सर्वसाधारणको भान्सा प्रभावित भएको र न्युन तथा मध्यम आय भएका परिवार प्रत्यक्ष मारमा परेको उनको भनाई छ । उनले मध्यपूर्वमा रहेका नेपालीहरूको जीवन जोखिममा परेको उल्लेख गर्दै उनीहरुको सुरक्षाका लागि आवश्यक कुटनीतिक पहललाई गर्न पनि सरकारसंग माग गरेका छन् ।