प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार शाहलाई पदमुक्त गरेका छन्। रास्वपाको सिफारिसमा प्रधानमन्त्रीले साहलाई जिम्मेवारीबाट हटाएका हुन्।
पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई पठाएको पत्रमा मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको निष्कर्ष केन्द्रीय अनुशासन आयोगले निकालेको उल्लेख गरिएको छ। पत्रअनुसार, साहले आफ्नी पत्नीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त गराउन भूमिका खेलेको आरोप लागेको छ।
पत्रमा भनिएको छ—यस प्रकारको कार्यले पार्टीको आदर्श, सिद्धान्त र मर्यादामा आघात पुग्ने देखिएकोले आवश्यक कारबाही सिफारिस गरिएको हो। पार्टी विधानको धारा २५ (४) (क) अनुसार सभापतिलाई यस्तो अवस्थामा कदम चाल्ने जिम्मेवारी रहेको र धारा ६९ अनुसार “राइट टु रिकोल” प्रयोग गर्दै मन्त्रीलाई फिर्ता बोलाउन सकिने व्यवस्था रहेको उल्लेख छ।



















