नयाँ दिल्ली, ७ अप्रिल २०२६ः वैश्विक भारत ब्रान्ड एम्बेसडर तथा दिल्ली स्टडी ग्रुपका अध्यक्ष डा. विजय जौली द्वारा चौथो अयोध्या राम मन्दिर तीर्थयात्रा ९ अप्रिलदेखि ११ अप्रिल २०२६ सम्म आयोजना गरिँदैछ। १० अप्रिल बिहान ९ः३० बजे सबै श्रद्धालुहरूले अयोध्या राम मन्दिर मा दर्शन गर्नेछन्।
डा. जौलीका अनुसार यो तीर्थयात्रा विश्व शान्ति र सद्भाव कायम गर्न तथा अमेरिका–ईरान–इजरायल र रूस–युक्रेनबीचका युद्ध अन्त्यको कामना गर्दै आयोजना गरिएको हो। रामलीला दर्शनअघि १० अप्रिल बिहान ८ देखि ९ बजेसम्म अयोध्यास्थित जानकी महल धर्मशालामा हवन गरिनेछ, जहाँ सहभागीहरूले युद्ध अन्त्यका लागि विशेष प्रार्थना गर्नेछन्।
यसपछि श्री राम जन्मभूमि तीर्थ क्षेत्रका महासचिव चम्पत रायसँग विशेष भेटघाट पनि गरिनेछ। तीर्थयात्रामा दिल्लीबाट १०१ जना र सिंगापुरबाट ६ जना श्रद्धालु सहभागी हुनेछन्।
यसअघि २३ अप्रिल २०२३ मा डा. जौलीको नेतृत्वमा १५६ देशका नदी र समुद्रको जलबाट अयोध्यामा राम मन्दिरमा ‘जलाभिषेक’ गरिएको थियो। त्यसपछि हरेक वर्ष अयोध्या तीर्थयात्रा आयोजना हुँदै आएको छ, र यस वर्ष चौथो यात्रा हो।
तीर्थयात्रीहरू अयोध्यास्थित जानकी महल ट्रस्ट धर्मशालामा बस्नेछन् र हनुमानगढी, कनक भवन, नागेश्वरनाथ मन्दिर, सरयू घाट (राम की पौड़ी), गुप्त घाट लगायतका धार्मिक स्थलहरूको भ्रमण तथा पूजा–अर्चना पनि गर्नेछन्।


















