प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सभापति चयन यही वैशाख ४ गते हुने भएका छन् । सङ्घीय संसद् सचिवालयका अनुसार सभापतिको निर्वाचनका लागि आवश्यक कार्यतालिका प्रकाशित भइसकेको छ । ‘सम्बन्धित समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस’ भन्ने प्रस्ताव बिहीबार दिउँसो १ देखि ४ बजेसम्म दर्ता गर्न सकिनेछ ।
सचिवालयका सचिव हर्कराज राईका अनुसार प्रस्तावमा एक जना प्रस्तावक र एक जना समर्थक अनिवार्य हुनेछ। सोही दिन प्रस्तावहरूको सूची प्रकाशित गरिनेछ भने शुक्रबार सम्बन्धित समितिमा मतदान तथा निर्णय प्रक्रिया अघि बढाइनेछ । एकभन्दा बढी समितिमा रहेका मन्त्रीले मतदान गर्नुपर्ने अवस्थामा २४ घण्टाअघि जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिनिधिसभाअन्तर्गत १०, राष्ट्रियसभाअन्तर्गत ४ र २ वटा संयुक्त समिति रहेका छन्। प्रतिनिधिसभामा कानुन, अर्थ, सार्वजनिक लेखा, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषयगत समिति छन्।


















