नेपाली कम्युनिस्ट पार्टीले सरकारको हालको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै सुकुम्बासी व्यवस्थापन, विद्यार्थी अधिकार र शासन सञ्चालनबारे ध्यानाकर्षण गराएको छ। आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सुकुम्बासी परिवारलाई उचित विकल्प बिना जबरजस्ती उठिबास लगाउने तथा बस्ती भत्काउने कार्य अमानवीय भएको उल्लेख गरेको छ।
विज्ञप्तिमा यस्तो कार्यले पीडित परिवारलाई विचल्ली पार्नुका साथै सीमान्तकृत समुदायप्रति राज्यप्रतिको विश्वास कमजोर बनाउने चेतावनी दिइएको छ। सुकुम्बासी व्यवस्थापनको सन्दर्भमा समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कदम नचलाउन सरकारसमक्ष आग्रह गरिएको छ।
त्यस्तै, पार्टीले नयाँ सरकार गठनसँगै बढ्दो महँगी र कालोबजारी नियन्त्रण गर्न तत्काल कदम चाल्नुपर्ने माग गरेको छ। साथै, विद्यार्थी संगठनहरूमा प्रतिबन्ध लगाउने प्रयास संविधानको मर्म र भावनाविपरीत भएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाएको छ। लोकतान्त्रिक गणतन्त्रमा नागरिक तथा विद्यार्थीका संगठित हुने अधिकारलाई कुण्ठित गर्न नहुने पार्टीको धारणा छ।
विज्ञप्तिमा सरकारको शासन सञ्चालन प्रक्रिया, संसदीय अभ्यास र निर्णय प्रक्रियामा देखिएको पूर्वाग्रही, मनोमानी तथा एकपक्षीय दृष्टिकोणप्रति पनि चिन्ता व्यक्त गरिएको छ। जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा गरेको भन्दै सरकारले आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिइएको छ।
पार्टीले सरकारलाई अझ लोकतान्त्रिक, उत्तरदायी र समावेशी बन्न आग्रह गर्दै सीमान्तकृत समुदाय, किसान, मजदुर र उत्पीडित वर्गका अधिकार सुनिश्चित गर्नुपर्ने बताएको छ। लोकतन्त्र सुदृढीकरणका लागि नागरिक अधिकार विस्तार र सामाजिक न्यायको प्रत्याभूति आवश्यक रहेको पनि विज्ञप्तिमा उल्लेख छ।



















