दक्षिण लेबनानमा आवागमन पुन: सुरु

इजरायली आक्रमणले तहसनहस बनाएको दक्षिण लेबनानमा युद्धविरामसँगै पुन:स्थापनाको काम तीव्र बनेको छ । सोअन्तर्गत लेबनानी सेनाले आइतबार मुख्य सडक र पुलहरू पुन: सञ्चालनमा ल्याएको जनाएको छ । यद्यपि पूर्वाधार खुले पनि क्षेत्रीय असुरक्षा र अनिश्चितताले सर्वसाधारणको जीवन अझै सामान्य बन्न सकेको छैन ।

सेनाले जारी गरेको विज्ञप्तिअनुसार नबातीह सहरलाई खारदाली क्षेत्रसँग जोड्ने मुख्य सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छ भने बुर्ज राहल–टायरे पुल आंशिक रूपमा खुला गरिएको छ । साथै, टायर फाल्से–टायरे पुलमा इजरायली आक्रमणपछि भएको क्षतिपछि पुन:स्थापनाको काम जारी रहेको उल्लेख गरिएको छ ।

विशेषगरी लिटानी नदीमाथिका पुलहरूमा भएका आक्रमणले दक्षिणी क्षेत्रलाई देशको बाँकी भागबाट लगभग अलग पारेको थियो । इजरायलबाट करिब ३० किलोमिटर उत्तरतर्फ बग्ने यो नदी पार गर्ने संरचनाहरू ध्वस्त हुँदा आवागमन र आपूर्ति दुवै प्रभावित भएका थिए ।

इजरायल र लेबनानबीच भएको १० दिने युद्धविराम शुक्रबारदेखि कार्यान्वयनमा आएको हो, जुन दुई दशकयता पहिलो प्रत्यक्ष वार्तापछि सम्भव भएको बताइएको छ । यसले इजरायल र हिजबुल्लाहबीच भएको भीषण झडपलाई अस्थायी रूपमा रोक लगाएको छ, जसमा करिब दुई हजार ३०० जनाको ज्यान गएको र एक करोडभन्दा बढी मानिस विस्थापित भएको अनुमान छ ।

युद्धविराम लागू भएसँगै लेबनानी सेना र स्थानीय प्रशासनले अवरुद्ध सडकहरू खुलाउने र यातायात पुन:स्थापना गर्ने कामलाई प्राथमिकता दिएका छन् । कास्मियेह पुल शुक्रबार बिहान पुन: सञ्चालनमा आएपछि दक्षिणबाट विस्थापित भएका धेरै नागरिकहरू आफ्नो घर फर्किन थालेका छन् र क्षतिको अवस्था बुझ्न थालेका छन् ।

तर अवस्था अझै स्थिर भइसकेको छैन । धेरै नागरिकहरू युद्धविरामको स्थायित्वप्रति शङ्कित रहँदै फर्किन हिचकिचाइरहेका छन् । शनिबार सिडोन सहरबाट बेरुततर्फ ठूलो सङ्ख्यामा सवारी साधनहरू फर्किएको दृश्य देखिएको थियो, जसले धेरै विस्थापितहरू अस्थायी आश्रयमै बसिरहन बाध्य भएको सङ्केत गरेको छ ।

हिजबुल्लाहका अधिकारी महमुद कामतीले पनि युद्धविराम अस्थायी मात्र भएको भन्दै इजरायलबाट पुन: आक्रमण हुन सक्ने चेतावनी दिएको छ । उनले नागरिकहरूलाई तत्काल घर फर्किन हतार नगर्न र अवस्था पूर्ण रूपमा सुरक्षित नभएसम्म सुरक्षित स्थानमै बस्न आग्रह गरेको छ ।

यसबीच इजरायली सेनाले युद्धविराम हुँदाहुँदै पनि दक्षिणी लेबनानमा केही आक्रमण र संरचना ध्वस्त पार्ने गतिविधि जारी राखेको आरोप लागेको छ । साथै, गाजामा प्रयोग गरिएको ‘पहेँलो रेखा’ जस्तै सुरक्षा रेखा दक्षिण लेबनानमा पनि लागू गरिएको इजरायलले जनाएको छ, जसले थप तनावको सङ्केत दिएको छ ।

युद्धविरामपछि पुन: सञ्चालनमा आएका सडक र पुलहरूले राहतको अनुभूति दिलाए पनि स्थायी शान्ति अझै टाढा रहेको देखिन्छ र क्षेत्रीय अवस्थाले कुनै पनि बेला फेरि उथलपुथल निम्त्याउन सक्ने सङ्केत गरिरहेको छ ।