राप्रपा संसद्‌मा चुप नबस्ने ज्ञानेन्द्र शाहीको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पार्टीको सिट संख्या कम भए पनि संसद्‌भित्र आफूहरू सक्रिय रूपमा आवाज उठाउने बताएका छन् ।

आज काठमाडौंमा राप्रपाले नवनिर्वाचित सांसदहरूलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा बोल्दै शाहीले राष्ट्रियता र जनजीविकासम्बन्धी विषयलाई संसद्‌मा मजबुत रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले राप्रपाका ५ सांसद भए पनि मौन नबस्ने स्पष्ट गर्दै भने,‘हामी रोस्ट्रमबाट आफ्ना एजेन्डा उठाउँछौं, भ्रष्टाचारको विरोध र जनताको जीवनसँग जोडिएका विषयमा देशभर आवाज उठाउँछौं ।’

शाहीले सरकारले सुशासनका लागि चालेका कदमलाई समर्थन गर्ने उल्लेख गर्दै तराईका सीमावर्ती क्षेत्रमा सानो परिमाणका सामान बोकेका सर्वसाधारणमाथि हुने दुव्र्यवहारप्रति आपत्ति जनाएका छन् । उनले गृहमन्त्रीलाई सम्बोधन गर्दै पूजाआजाका लागि ल्याइने सानो परिमाणका सामानका कारण नागरिकमाथि कुटपिट हुनु गलत भएको भन्दै यस्ता घटना रोक्न आग्रह गरेका छन् । उनले आफू चुनाव जितेपछि साझा प्रतिनिधिका रूपमा सबै जनताको हितमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।