अतिक्रमणकारी र सुकुम्बासी छुट्याएर वास्तविक सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं: प्रधानमन्त्री शाह​

प्रधानमन्त्री बालेन्द्र शाह बालेनले हरेक वर्ष बाढीका कारण काठमाडौंका नदीकिनारमा रहेका हजारौँ मानिस भाग्नुपरेको उल्लेख गरेका छन् । सरकारले सुकुम्वासी बस्ती हटाउने तयारी गरिरहँदा बालेनले शुक्रबार फेसबुकमा स्टाटस लेख्दै यस्तो उल्लेख गरेका हुन् ।

उनले वर्षेनि आउने बाढीका कारण थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रका बासिन्दा विस्थापित हुनुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गर्दै सरकारका तर्फबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना अघि सारिएको बताए ।

सरकारले बल प्रयोग नगरी मानवीय ढंगले बस्ती व्यवस्थापन गर्ने, वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउने तथा देशभरका योग्य सुकुम्बासीका लागि जग्गा वितरण प्रक्रिया अघि बढाइने उनको भनाइ छ । शाहले अतिक्रमणकारी र सुकुम्बासी छुट्याएर वास्तविक सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्ने बताएका छन् ।