त्रिभुवन विश्वविद्यालयले नेपाल क्रिकेट संघ (क्यान) सहित १८ संस्था लाई आफ्नो जग्गा खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ। गत ४ वैशाखमा सूचना जारी गर्दै त्रिविले अतिक्रमित जग्गा फिर्ता गर्ने निर्णयअनुसार पत्राचार गरिएको जनाएको हो। क्यानसँगको सम्झौता यसै महिनाको अन्त्यमा सकिँदैछ।
महेन्द्रकुमार थापाको संयोजकत्वमा गठित खोजबिन समितिको प्रतिवेदनअनुसार कीर्तिपुर परिसर र आसपास करिब १ हजार रोपनी जग्गा अतिक्रमण भएको पाइएको छ। लेबोरेटरी विद्यालय, खानेपानी बोर्ड, विभिन्न संघ–संस्था र स्थानीय निकायहरू समेत त्रिविको जग्गा प्रयोग गरिरहेका छन्।
समितिले केही संरचना स्वीकृति बिना बनेको र राजनीतिक तथा भूमाफियाको संलग्नतामा जग्गा दुरुपयोग भएको आशंका समेत जनाएको छ।


















