शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सोमबार भएको भेटमा शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुद क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे छलफल भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।
भेटमा विद्यालयको पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणाली, संस्थागत सुदृढीकरणलगायत समसामयिक विषयमा कुराकानी भएको थियो। साथै नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यबारे पनि चर्चा गरिएको छ।
मन्त्री पोखरेलले विद्यालय पूर्वाधार र डिजिटल शिक्षा प्रणालीको विकासमा चिनियाँ सरकारसँगको सहकार्य थप विस्तार गर्न चाहेको बताएका थिए। साथै, उनले शिक्षा क्षेत्रमा सञ्चालनमा रहेका परियोजना छिटो सम्पन्न गर्न र नेपाली युवाको रुचिअनुसार चीनबाट प्राप्त हुने छात्रवृत्ति प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए।


















