महावीर पुनको गुनासो: मन्त्री हुँदा स्कूलमा अनिवार्य कम्प्युटर पढाउने निर्णय गरेको थिएँ, कामै भएनछ

प्रतिनिधिसभा सदस्य महावीर पुनले माध्यमिक तहमा अनिवार्य कम्प्युटर विषय लागू गर्ने काम अघि नबढेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार फेसबुकमार्फत उनले आफू शिक्षा मन्त्री हुँदा हरेक माध्यमिक विद्यालयमा १०० पूर्णाङ्कको कम्प्युटर विषय लागू गर्ने प्रक्रिया सुरु गरिएको बताएका छन्।

उनका अनुसार, पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक तयारी र शिक्षक व्यवस्थापनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको थियो। साथै, कम्प्युटर शिक्षकको दरबन्दीका लागि अर्थ मन्त्रालयसँग समन्वय समेत गरिएको थियो।

तर, ती सबै प्रयासका बाबजुद कार्यान्वयन नभएको भन्दै उनले असन्तुष्टि जनाएका छन्। उनले भनेका छन्, “काम सुरु भइसकेको थियो, तर केही पनि अघि बढेन।”अब सम्बन्धित अधिकारीहरूलाई शिक्षा समितिमा बोलाएर जवाफ माग्ने उनले बताएका छन्।