संसद् अधिवेशन अन्त्य गरेर सरकारले अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरूले कडा विरोध जनाएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले लगायत चार विपक्षी दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको कदमलाई असंसदीय र अलोकतान्त्रिक ठहर गरेका छन् र अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिसमक्ष आग्रह गरेका छन्।
बुधबार बसेको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा वैशाख १४ र १५ गते सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ अध्यादेश ल्याउन गरेको सिफारिसप्रति आपत्ति जनाइएको छ।
विपक्षी दलहरूले संसद् आह्वान गरेलगत्तै अधिवेशन स्थगन गरेर अध्यादेश ल्याउनु लोकतान्त्रिक अभ्यासविपरीत भएको भन्दै घोर विरोध, भर्त्सना र निन्दा गरेका छन्।


















