कांग्रेसका सभापति गगनकुमार थापाले १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सार तिर्नुपर्ने सरकारी निर्णय अव्यवहारिक, नागरिकमैत्री नभएको र मधेशका बासिन्दालाई दुःख दिने खालको भएको बताएका छन् ।
सर्लाहीको सीमावर्ती क्षेत्र भ्रमणपछि उनले यस्तो नीति लागू हुँदा दैनिक जीवन झन् कष्टकर बनेको उल्लेख गरे।उनका अनुसार भारतबाट काम गरेर फर्किएका मजदुरले सामान्य सामान ल्याउँदा पनि सीमामा घण्टौँ रोकिनुपरेको छ, जसले नागरिकमा डर र आक्रोश बढाएको छ ।
थापाले यो व्यवस्था पुरानै कानुन भए पनि अव्यवहारिक भएकाले पहिले कार्यान्वयन नगरेको र समयमै सुधार नगर्नु कमजोरी भएको स्वीकार गरे।
उनले यस नीतिबाट खासै राजस्व नउठ्ने भए पनि सर्वसाधारणलाई अनावश्यक दुःख दिइएको तर्क गरे।उनले सरकारलाई यो निर्णय तत्काल फिर्ता लिन, सीमामा सहजता कायम गर्न र विशेषगरी मधेशका नागरिकको दैनिकीलाई ध्यानमा राखेर नीति संशोधन गर्न आग्रह गरेका छन्।


















