लालपुर्जा नभएका सबैलाई हटाउने हो भने ५० लाख नागरिक गरिबीको चक्रमा फस्नेछन्: महामन्त्री पोखरेल

नेकपा एमालेका महामन्त्री शंकर पोखरेलले लालपुर्जा नभएका सबै नागरिकलाई हटाउने नीति लागू गरियो भने करिब ५० लाख जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गरिबीको चक्रमा फस्ने खतरा रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले काठमाडौँ महानगरपालिकासहित देशभर भूमिसम्बन्धी समस्या गम्भीर बन्दै गएको उल्लेख गरेका छन् । भूमि आयोगमा परेका निवेदनअनुसार देशभर ९८ हजार ५०२ भूमिहीन सुकुमबासी, १ लाख ८० हजार २९३ सुकुमबासी तथा ९ लाख ३० हजार ७९० अव्यवस्थित बसोबासी गरी कुल १२ लाखभन्दा बढीले निवेदन दिएको उनले बताएका छन्।

यस बाहेक केही हजार वास्तविक भूमिहीन अझै बाहिर हुन सक्ने अनुमान गरिएको छ भने काठमाडौँमै करिब १ लाखको हाराहारीमा सुकुमबासी र अव्यवस्थित बसोबासी रहेको उनको भनाइ छ।पोखरेलले ९ लाखभन्दा बढी अव्यवस्थित बसोबासीका संरचना हटाउने निर्णयले अर्बौँ रुपैयाँ बराबरको क्षति निम्त्याउने दाबी गरेका छन्।