विद्यालय शिक्षामा देखिएका अन्योल हटाई आगामी रणनीति बनाउन शिक्षा मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने भएको छ ।
विद्यार्थी भर्ना, मापदण्ड विपरीत शुल्क तथा वार्षिक शैक्षिक क्यालेण्डरलगायत विषयमा रणनीति बनाउन सोमबार स्थानीय तह र सरोकारवालासँग छलफल गर्न लागिएको मन्त्रालयले जनाएको छ।सिंहदरबारस्थित मन्त्रालयमा हुने छलफलमा शिक्षामन्त्री सस्मित पोखरेल, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता ढंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, नेपाल नगरपालिका संघका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष सहभागी हुनेछन्।
त्यसैगरी गृह मन्त्रालय र शिक्षा मन्त्रालयका उच्च अधिकारीहरूको पनि उपस्थिति रहनेछ । केही संस्थागत विद्यालयहरूले कानुनविपरीत शैक्षिक सत्र २०८३ सुरु हुनुअघि नै भर्ना लिने र स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुल्ने गुनासो बढेपछि मन्त्रालयले गैरकानुनी रूपमा संकलित शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो ।
संघीय सरकारले वैशाख १५ बाट भर्ना सुरु गर्न र वैशाख २१ देखि पठनपाठन सञ्चालन गर्न भने पनि उपत्यकाका स्थानीय तहहरूले वैशाख ११ देखि नै नयाँ भर्ना अभियान सुरु गरेका थिए ।


















