काठमाडौँ । प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबिच सवाल जवाफ भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा एक अर्कोका अभिव्यक्तिलाई लिएर सांसदहरूबिच सवाल जवाफ चलेको हो ।
मंगलबारको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिलाई लिएर रास्वपा सांसदहरूले बुधबारको बैठकमा आपत्ति जनाएका थिए । थापाले रास्वपाले चुनाव जित्नुको पछाडि अल्गोरिदमको प्रयोग भन्दै रास्वपा कुनै वैचारिक राजनीतिक शक्ति नभएकाले ‘अराजकहरूको भीड’ भनेका थिए ।
सोही विषयलाई लिएर बुधबार रास्वपाका सांसद मनिष खनालले सभामुखको ध्यानाकर्षण गरे । बादलका अभिव्यक्ति संसदीय रेकर्डमा राख्दा भविष्यमा गलत रेकर्ड रहिरहने भएकाले हटाउनुपर्ने उनको जिकिर थियो ।
रास्वपा सांसद मनिष खनाल बोले लगत्तै एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिवाद गरे । तर महरको माग सभामुखले नसुनेर रास्वपा सांसद मनिष खनालले माग गरे अनुसार एमाले नेता बादलले बोलेको अभिव्यक्ति हटाउन संसद् सचिवालयलाई रुलिङ गरे ।


















