धर्म र अध्यात्म १०

धर्म र अध्यात्मको खोजीका क्रममा यस आलेखमा शंकराचार्य जगत्गुरु र उहाँको नेपाल आगमन बारे सामान्य चर्चा गर्ने प्रयास गरिएको छ । नेपाल देश धर्म र अध्यात्मकै जगमा उभिएको छ । भारतीय उपमहाद्विपमा धर्मप्रति हुँदै आएको प्रहारका कारण आद्य गुरु शँकराचार्यले विशाल भारतीय क्षेत्रको चारैतिर चार धामको परिकल्पना गर्नु भयो । पूर्वमा जगन्नाथधाम, पश्चिममा द्वारका, दक्षिणमा रामेश्वर र उत्तरमा केदारनाथ धाम । आद्य गुरु शँकराचार्यलाई स्वयं शिवरुप मानिन्छ र उहाँको उमेर करिव ३२ मात्रै रह्यो । काठमाडौँको पशुपति धर्मशाला, आनन्द होटलमा हालै एक अन्तरक्रिया कार्यक्रम गर्दै जगत्गुरु शंकराचार्यको नेपाल आगमन बारेको कार्यक्रम सार्वजनिक भएको छ । भारतको कर्नाटक दक्षिणाम्नाय शारदा पीठ श्रृँगेरीका जगत्गुरु शँकराचार्य श्रीश्री विद्युशेखर भारती महास्वामीज्यूले यसै जेठ ८ गतेदेखि १५ गतेसम्म साताव्यापी नेपाल भमण गर्ने जानकारी व्यवस्थापन समितिका अध्यक्ष भेष थापाले दिनु भएको छ । विश्व शान्ति हेतु शँकराचायहरुको अन्तर्राष्टिृय भ्रमण हुने गरेको छ । नेपाल वैदिक भूमि हो, यो शैवस्थली हो, यहाँ ओमकार परिबारको बाहुल्यता छ । अहिलेसम्म हामीले धेरै शँकराचार्यहरु पाइसकेका छौँ । शँकराचार्यको आगमन हामीकहाँ १९६७ पछिको यो भ्रमण हो । ॐ कार परिबार हिन्दु, शिख्ख, बौद्ध, जैन समेतले वन्दना गरिँदै उहाँको भ्रमण सार्थक तुल्याइने आयोजकहरुले बताउनु भएको छ । उमेरले ३६ वयमा रहनु भएका शाकराचार्यलाई नेपाल सरकारले औपचारिक रुपमा स्वागत गर्ने कार्यक्रम तय भएको बुझिन्छ । उहाँको सान्निध्य, दर्शन, यजन, पूजन र आशीर्वाद हाम्रा लागि गौरवको विषय हुन्छ । भगवान प्रत्यक्ष देखिने विषय नभएर भक्त मार्पmत् नै प्राप्त हुने भएकाले इँश्वरीय अँशस्वरुम विशेष सन्तहरुको दर्शन हाम्रा लागि अझ भनौँ सबैका लागि सार्थक हुने छ ।
यसका लागि देशैभरिका संघ, संस्था, विशिष्ट धार्मिक, आध्यात्मिक जन, सर्वसाधारणदेखि तमाम सिँहदरबार समेत यसमा शरिक हुने, आम सञ्चार ठूला मेडिया हाउसहरु यसमा खटेर लाग्ने पनि सार्वजनिक भएको छ । स्वामी गोकुलानन्द, सामाजिक अभियन्ताहरु रेवतीरमण अधिकारी, समाजसेवी गणेशजी, कल्याण गुरुँग, डा घनश्याम खतिवडा, स्वयं पक्तिकार, तथा गन्यमान्य धेरै व्यक्तिहरुको समुपस्थितिमा यी विषयहरु सार्वजनिक भएका छन् र सम्पर्क कार्यालय आनन्द होटल पशुपति धर्मशाला रहेको छ । जगत्गुरुलाई विशेष सम्मानका साथ त्रिभूवन विमानस्थलबाट स्वागत गरिँदै पशुपतिक्षेत्र लगायत नारायणहिटीस्थित चतुव्र्यूह नारायण मन्दिर, रसुवाको गोसाइँकुण्ड, मुस्ताँगको मुक्तिक्षेत्र, नारायणीको देवघाट, नवलपरासीको मौलाकाली लगायतका चर्चित धार्मिक स्थलहरुमा शकराचार्यलाई भ्रमण गराइने, स्वस्तिवाचन सहित वेदिक पूजा हुने, नेपालको मौलिक संस्कृति झल्कने गरी उहाँको सम्मान गरिने, मन्त्रोच्चारण, शंख ध्वनि, पण्डित, वटुक कन्याहरुबाट स्वागत, विभिन्न बाजागाजा सहित आम भक्तजनको सान्निध्य रहने बताइएको छ । उहाँको भ्रमणपछि स्मारिका निस्कने र हरेक विषयहरुलाई लिपिवद्ध गरिने समेत जानकारी गराइएको छ । नेपालको साताव्यापी भ्रमण सकेर लगत्तै उहाँ अमेरिका प्रस्थान हुने पनि आयोजकहरुले बताएका छन् । बालेन सरकारले शपथ लिँदा शीतल निबासमा वैदिक मन्त्रोच्चारण भएको र प्रधानमन्त्री बालेनले आपूmले अध्ययन गरेको क्षेत्र नै शँकराचार्य सम्बद्ध शैक्षिक संस्था भन्ने अनुमान गरिएकाले पनि शँकराचार्यको नेपाल भ्रमणले थप सार्थकता पाउने शुभ संकेत भन्न सकिन्छ । पशुपतिनाथको पूजाका लागि खटिने भट्टहरुको छनोट कार्य पनि यसैपीठबाट हुने इतिहास रहेकाले पनि यो भ्रमणलाई विशेष रुपमा हेरिएको छ ।
नेपालका प्राचीन चारधाम रुरुक्षेत्र, मुक्तिक्षेत्र, पशुपतिक्षेत्र र बाराहक्षेत्र हो । अन्य देशहरु पछि बनेका हुन् तर नेपाल जो कलिमा यसलाई नेपाल भनिएको छ, सत्ययुगमा सत्यपुर, त्रेतामा तपोवन, द्वापरमा मुक्ति सोपान रहेको थियो । आद्य गुरु शंकराचार्य नेपाल आउनु भएको र उहाँले नै पशुपतिनाथको पूजा प्रक्रिया थालनी गराउनु भएको भनिन्छ । शंकराचार्य मठ अहिले पनि यहाँ छ ।
को हुन् शड्ढराचार्य ? अतीतलाई खोतल्दा
आद्य शङ्कराचार्य (वि.सं. ८४५–८७७) अद्वैत सिद्धान्तका अनुयायी, शैव हुन् । आचार्य शङ्करको जन्म समय बारे विद्धान्हरूको मतैक्य छैन । कसैले ईसाको चाराँैं शताव्दी, कसैले छैठाँैं शताब्दी पूर्व भनेका छन् भने कसैले आठौँ शताब्दी भनेका छन् । जन्म समय एकिन नभए पनि जन्म स्थान उनको सुदूर दक्षिण भारतको केरलक्षेत्र नै हो । केरलको पूर्णानदीको तीर कालाडी स्थानमा धर्मात्मा शिवगुरुकी पत्नी सुभद्राको कोखबाट वैशाख शुक्ल पञ्चमीका दिन उनी जन्मेका हुन् ।
शिवदम्पतीले लामो समय सन्तति सुख प्राप्त गर्न नसक्ता नजिकै मन्दिरमा चन्द्रमौलीश्वरको सतत् प्रार्थना गर्न थाले । शिव दम्पतिको आर्तपुकारलाई सुनेर सपनामा भगवान््ले दर्शन दिनुभयो र भन्नुभयो– केही समयपछि नै सर्वगुण सम्पन्न पुत्र प्राप्त हुन्छ भनेर ! नभन्दै केही समयपछि स्वयं शिव स्वरुप पुत्ररत्न प्राप्त भयो, शिव दम्पतिको कोखबाट ! वालकमा विलक्षण प्रतिभा थियो । बालकले एक वर्षमै केरल मातृभाषामा आफ्ना भित्री मनका भावहरू प्रस्फुरण गर्न थाले । दुई वर्षको उमेरमा आफ्नी आमाले सुनाएका देव कथाहरू कण्ठस्थ पारे । तीनवर्षको उमेरमा चूडाकर्म सकियो, पिताको अवसान पनि यही समयमा भयो, चूडाकर्मपछि ! अव माता सुभद्राको काँधमा जिम्मेवारी थपियो । पाँच वर्षको उमेरमा उपनयन गराएर गुरुहरू सामु पढ्न पठाइन् । केवल दुई वर्षमा बालक शङ्करले वेद, वेदान्तको अध्ययन पूरा गरे । शङ्कर घर फर्किए, सातै वर्षमा सन्यासी हुने इच्छा प्रकट पनि गरे ! आमाले मानिनन्, त्यस वेला शङ्कर सन्यासी हुन सकेनन् । केही समयमै आमा छोरासंँगै स्नान गर्न भनी नदीमा गए । शङ्करलाई गोहीले समात्यो, आमाको होस् हवास् उड्यो । आत्तिएर शङ्कर कराए ‘आमा मलाई सन्यासी हुने आज्ञा दिनूस्, गोहीले मलाई केही गर्दैन, छोडिदिन्छ’ आमाले भन्ठानिन्– मृत्यु भन्दा त सन्यासी पुत्र नै ठीक, आमाले तत्कालै आदेश दिइन् ‘बाबु तिमी सन्यासी बन’ ।
नभन्दै शङ्करलाई गोहीले छोड्यो । आठ वर्ष भयो, अव शङ्करले सन्यासी बन्ने घोषणा गरे । घरछिमेकीलाई आमाको लालनपालन बारे ध्यान दिन अनुरोध गरे । आमाको अन्त्य अवस्थामा चाहिँ आपूm आउने उद्घोष पनि गरे । शङ्करले घर छाडे । योग्य गुरु खोज्दै हिँंडे । नर्मदाको तटमा सिद्धगुरु गोविन्दपादाचार्यलाई भेटे । शङ्करको सतत् प्रयासलाई सिद्धगुरुले बुझे, तुरुन्तै दर्शन दिए । थोरै समयमा शङ्कर सिद्धयोगी बनिहाले, १२ वर्षकै उमेरमा ! गुरुको आज्ञाले उनी काशी आए, गुरुकै प्रेरणाले वेदान्तसूत्रमा भाष्य लेख्न थाले ।
काशीमा उनको सम्मान भयो, अध्यापन पनि गर्दै, लेख्दै पनि आए । उनले बनाएका पहिलो शिष्य हुन् – सनन्दन ! पछि यिनलाई पद्मपादाचार्य भनिन थालियो । देवेश्वर, त्रोटक र हस्तमाला अन्य ३ शिष्यहरूले शङ्करको मतलाई प्रचार–प्रसार गर्न थाले । शङ्करले धेरै ग्रन्थहरू थोरै समयमा नै तयार पारे । उनका ग्रन्थहरूमा खासगरी भाष्य, दार्शनिक र साहित्यिक तीन किसिमका भए । स्वतन्त्र चिन्तनशैली, प्रखर र परिमार्जित बौद्धिकताले उच्च स्थान पाउँदैआयो । सीमित शव्दमा अधिक अभिव्यक्ति गर्न सक्नु उनको महानता देखिन्थ्यो, सूत्रात्मक शैलीमा ! उनका रचनामा वेदान्तको ब्रह्मवाच्य, तर्कपूर्ण शैली, प्रमाणगत मान्यता, सगुण र निर्गुण फल निर्णय जस्ता अद्वितीय अद्वेतवादले साँच्चै निकै चर्चा पाउनथाल्यो । उपनिषद्को भाष्य, गीताको भाष्य, विष्णु सहस्रनाम आदिमा उनले गरेको तर्कमा उछिन्न सक्ने कुनै व्यक्ति पनि देखिएन । प्रश्नोत्तरी रचना, सप्तश्लोकी रचना, विवेक चूडामणिको रचना हेर्दा उनको व्यक्तित्व विलक्षण, परिपक्व र परिमार्जित देखियो । उनको जीवनमा ८,१२, र १६ को संयोग छ । ८ वर्षमा सबै वेदको ज्ञाता, १२ वर्षमा सम्पूर्ण शास्त्रका ज्ञाता अनि १६ वर्षमा भाष्य निर्माण, अनि सोह्र दुने बत्तीस वर्षपछि अन्तिम प्रयाण ! इहलीला समाप्त ! त्यसो त १६ वर्षमै उनी धर्तीबाट बिदा लिन चाहन्थे, स्वयं वेदव्यासजी आए, वादरायण ! उमेर थपे, काम पूरा भएको छैन भनेर !
समकालमा संसारमा धर्मप्रति आक्रमण हुंँदै थियो । अनीश्वरवादी अनात्मवादीहरूले विपरीत उपासनाको पक्षपोषण गर्दैथिए । मठ–मन्दिर निर्माण गर्दै धर्मको पुनःस्थापना गर्दै प्रचार–प्रसारमा हिँड्न थाले शंङ्कर ! प्रसिद्ध दार्शनिक कुमारिल भट्टसंग शास्त्रार्थ गर्ने प्रयास गरे । कुमारिल भट्टले आफ्नो सट्टा माहिष्मतीपुरका मण्डन मिश्रसंँग सम्पर्क गर्न भने । मण्डन मिश्रकी धर्मपत्नी भारती समेतसंग शङ्कर शास्त्रार्थ गर्न लागे । मण्डनले हारेपछि पत्नी अगाडि आइन्, कामकला सम्वन्धी प्रश्नहरू गर्न ! कामकलामा शङ्कर विजयी भए । अव मण्डन मिश्र पनि उनका शिष्य बने, पछि यिनलाई सुरेश्वराचार्य भनिन थालियो ।
नाम चल्दै गएपछि शङ्करका बिरोधीहरू बढ्न थाले । बौद्धिक रुपमा विजय गर्न नसकेपछि एक कापालिकले एकपटक शङ्करसामु गई भन्न लाग्यो – तत्वज्ञानीलाई शरीरको माया हुन्न, कापालिकले भन्यो– म एउटा यस्तो उपासाना गर्दैछु, जसको पूर्णताको लागि तत्वज्ञानीको शिर आवश्यकता छ, तपाइँ मेरो कार्यमा सहयोग गर्न सक्नुहुन्छ ? शङ्करले भने–‘हुन्छू,म समाधि लिन्छुू’ । शङ्करले समाधि लिए । कापालिक उनको शिर छेदन गर्न तयार भयो । तर संयोग एक शिष्यले भगवान््को प्रार्थना गरेका कारण भगवान्् नृसिँहको संकेतले शिष्यबाटै त्यो कापालिकको अन्त्य हुन पुग्यो ।
हिन्दु धर्म, संस्कृतिमा उनको नाम विशिष्ट छ । समकालमा भारतमा अनीश्वर र अनात्मबादको व्यापक प्रचार भैरहेको बखत आफ्नो छोटो जीवनकालमा उनले व्यापक रुपमा हिन्दुधर्म प्रचार गरे । उनका कृति र समयकालका बारे शड्ढा भए पनि उनका ब्रह्मसूत्र, श्रीमद्भगवत गीताको साथै ११ वटा उपनिषत् समेतमा भाष्यमा शङ्का छैन । भारतमा चारस्थानहरूमा ४ धाम, मठ–मन्दिरहरू स्थापना गर्ने आद्यशड्ढराचार्यको विद्धतामा पनि शड्ढा छैन । उनी वेदान्तका प्रकाण्ड विद्धान् हुन् ।
आद्यगुरु शङ्कराचार्यको वेदसार शिवस्तुति यस प्रकार छ ः–
पशूनां पतिं पापनाशं परेशं गजेन्द्रस्य कृतिं वसानं वरेण्यम् ।
जटाजूटमध्ये स्फुरद्गांगवारिं महादेवमेकं स्मरामि स्मरामि ।।
महेशं सुरेशं सुरारातिनाशं विभुं विश्वनाथं विभूत्यङ्गभूषम् ।
विरूपाक्षमिन्द्रार्कवन्हित्रिनेत्रं सदानंदमीडे प्रभुं पञ्चवक्त्रम् ।।
गिरीशं गणेशं गले नीलकर्णं गवेंद्राधिरूढं गुणातीतरूपम् ।
भवं भास्वरं भस्मना भूषितांगं भवानीकलत्रं भजे पञ्चवक्त्रम् ।।
शिवाकांत शम्भो शशांकार्धमौले महेशान शूलिन् जटाजूटधारिन् ।
त्यमेको जगदव्यापको विश्वरूप प्रसीद प्रसीद प्रभो पूर्णरूप ।।
परात्मानमेकं जगद्वीजमाद्यं निरीहं निराकारमोंकारवेद्यम् ।
यतो जायते पाल्यते येन विश्वं तमीशं भजे लीयते यत्र विश्वम् ।।
न भूमिर्न चापो न वन्हिर्न वायुर्न चाकाशमास्ते न तन्द्रा न निद्रा ।
न ग्रीष्मो न शीतं न देशो न वेषो न यस्यास्ति मूर्तिस्त्रिमूर्तिं तमीडे ।
अजं शाश्वतं कारणं कारणानां शिवं केवलं भासकं भासकानाम् ।
तुरीयं तम ः पारमाद्यंतहीनं प्रपद्ये परं पावनं द्वैतहीनम् ।।
नमस्ते नमस्ते प्रभो विश्वमूर्ते नमस्ते नमस्ते चिदानंदमूर्ते ।
नमस्ते नमस्ते तपोयोगगम्य नमस्ते नमस्ते श्रुतिज्ञानगम्य ।।
प्रभो शूलपाणे विभो विश्वनाथ महादेव शंभो महेशत्रिनेत्र ।
शिवाकांत शांत स्मरारे पुरारे त्वदन्यो वरेण्यो न मान्यो न गण्य ः ।।
शंभो महेश करुणामय शूलपाणे गौरीपते पशुपते पशुपाशनाशिन् ।
पशुका पति, पापनाशक, जटाजुटधारी, महादेव, महेश, सुरेश, विभु, प्रभु, विश्वनाथ, विरुपाक्ष, त्रिनेत्र, पाँचमुख भएका, सदानन्ददायी, गिरीश, गणेश, नीलकण्ठ, गुणातीत, भष्माङ्गलेपन गर्ने भगवती भवानीका पति, शम्भु, विश्वव्यापी, पूर्णरुप, परात्पर, जगत्का एकमात्र आधार, पूर्ण परब्रह्म, निरञ्जन, निराकार, शङ्करलाई नमस्कार !
ग्रीष्म, शरद, जाडो, गर्मी आदिबाट प्रभावित नहुने, समय, देश, परिवेशबाट पनि प्रभावित नहुने, शास्वत, सबैको कारण, विश्वको प्रतिमूर्ति, परमयोगी, ज्ञान, वैराग्य र भक्तिको त्रिवेणी मानव हृदयमा हरदम निवास गर्ने करुणामय श्रीशङ्करलाई नमस्कार । समस्त पशु (प्राणी) हरूको पापनाशक भगवान्् पशुपतिलाई गुरु शङ्कराचार्यले वेदको सारमा स्तुति गरेका छन् ।
आद्य शड्ढराचार्य नेपाल आएका बारेमा भने उनका समकालका शड्ढरविजय, शड्ढरदिग्विजय आदि प्रामाणिक ग्रन्थहरूले केही बोलेका छैनन् । डेनियल राइटको वंशावलीमा शड्ढराचार्यलाई वृषदेवको समकालिक बताइएको छ । पशुपतिनाथको ईशानमुखमा श्रीयन्त्र लेखी तान्त्रिकविधिले पूजा गर्ने पद्धति शड्ढराचार्यले सुरु गराएका थिए भन्ने लोकोक्ति सुनिएकाले नेपाल आएका शड्ढाराचार्य आद्यशड्ढराचार्य नभई वाराणसीस्थित आमर्दक अग्निपीठका हुन् भनी भन्न सकिन्छ । वि.सं. ११९९ को राष्ट्रिय संग्रहालयमा भएको शिलालेखले यो कुरा पुष्टि गर्छ । यी शड्ढराचार्य दुई पटक यहाँ आए, शास्त्रार्थ गरे, शैव मतको प्रचार गरे । पशुपतिनाथमा तान्त्रिक पद्धतिले पूजाको सुरुवात, आगम घरको स्थापना, दक्षिणका भट्टहरूको पुजारी व्यवस्था आदि हेर्दा यही कुरा पुष्टि हुन आउँछ । पशुपतिनाथ मन्दिर पश्चिम ढोका नजिक शड्ढराचार्यमठ स्थापित छ ।
र अन्त्यमा पूरै ब्रह्माण्डरुपी शरिरको मृगौला हो नेपाल, मुटु हो काठमाडौँ । यहाँँो दर्शन, भ्रमण नगरेसम्म देवताहरुले पनि पूर्णता पाउन सक्दैनन् । यो धर्म र अध्यात्मको पूँजी हो, वीउ बैँक हो, यहाँ धर्म र अध्यात्मको खोजी र रक्षा भएन भने विश्वमै कहीँ रक्षा हुन्न र त भनिएको छ धर्मो रक्षति रक्षितः भनेर । काष्ठमण्डप चारै नारायण, चारै गणेश, नवै शक्ति पीठ, वाग्मती, विष्णुमती, रुद्रमती, इक्षुमती, नाग्मती, शेषमतीले परिवेष्टित छ, मति भनेको विचार हो विचारमा शुद्धता हुन जरुरी छ । संसारकै योगिनी शक्ति यहीँ छ । हरतरहले राज्यले, तमाम जनहरुले यसको संरक्षण गर्न जरुरी छ, शँकराचार्यको भ्रमणको दिव्य सन्देश पनि यही हुन सक्छ, अस्तु ।