इरानमा थुनामा रहेका अमृत झा रिहा नभएको परराष्ट्र मन्त्रालयको स्पष्टोक्ति, माफी माग्यो

परराष्ट्र मन्त्रालयले इरानमा थुनामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको भनी पहिले सार्वजनिक गरिएको सूचना गलत भएको स्वीकार गर्दै माफी मागेको छ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै झा अझै पनि इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेको स्पष्ट पारेको हो। मन्त्रालयका अनुसार झाको मुद्दा स्थानीय अदालतमा विचाराधीन छ र उनीमाथि आवश्यक विशेषज्ञ प्रतिवेदन तयार गर्ने प्रक्रिया चलिरहेको छ। यसअघि अनौपचारिक सूचनाका आधारमा रिहाइ भएको भन्दै सार्वजनिक गरिएको विवरणपछि गलत सावित भएको मन्त्रालयले जनाएको छ।

झा सन् २०२६ जनवरीमा क्युसिएम टापुबाट अन्य विदेशी नागरिकसँगै इरानी सुरक्षाकर्मीको नियन्त्रणमा परेका थिए। अदालतको प्रक्रियाअनुसार कानुनी निरूपण भइरहेको र नेपाल सरकारले उनको निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी राखेको मन्त्रालयको भनाइ छ। गलत सूचना सार्वजनिक हुँदा उत्पन्न अन्योलप्रति दुःख व्यक्त गर्दै मन्त्रालयले झाका परिवारलाई समेत यथार्थ जानकारी दिइसकेको जनाएको छ।