रास्वपाले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मासँग अदालत सुधारको स्पष्ट खाका माग गरेको छ। संसदीय सुनुवाइ समितिमा जारी सुनुवाइका क्रममा रास्वपा सांसद कविन्द्र बुर्लाकोटीले न्यायालय सुधार, मुद्दा फर्स्योट र अदालतमा रहेको विचौलिया प्रभाव नियन्त्रणबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका हुन्। सुनुवाइका क्रममा बुर्लाकोटीले अदालत सुधारका लागि शर्माको कार्ययोजना के हो भन्ने प्रश्न उठाउँदै न्यायपालिकालाई कसरी थप पारदर्शी, प्रभावकारी र जनविश्वासयुक्त बनाउने भन्ने विषयमा स्पष्ट जवाफ मागे। उनले उजुरीकर्ताले दिएका आरोप र उजुरीबारे पनि धारणा राख्न आग्रह गर्दै, “उजुरी सम्बन्धित निकायमा पठाइन्छ, यस्तो अवस्थामा यहाँको भूमिका के हुन्छ ?” भनेर प्रश्न गरे।
त्यसैगरी, उनले संक्रमणकालीन न्यायको विषयमा पनि स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताए। मुद्दाको फर्स्योट दर कसरी बढाउने, अदालतमा रहेका विचौलियाको प्रभाव कसरी कम गर्ने र न्यायालय विकासमैत्री संस्था हो भन्ने सन्देश समाजमा कसरी स्थापित गर्ने भन्ने विषयमा समेत सांसद बुर्लाकोटीले प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग जवाफ मागेका थिए। संसदीय सुनुवाइमा उठेका यी प्रश्नलाई न्यायालय सुधार र जनविश्वास पुनःस्थापनासँग जोडेर हेरिएको छ।


















