अध्यागमन विभागद्वारा डिजिटल टाइम कार्ड प्रणाली सुरु

अध्यागमन विभागले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल र पारदर्शी बनाउने उद्देश्यसहित “डिजिटल टाइम कार्ड” प्रणाली कार्यान्वयनमा ल्याएको छ।
बिहीबार विभागमा आयोजित एक कार्यक्रममा उक्त प्रणाली औपचारिक रूपमा सुरु गरिएको हो।

विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार सरकारको १३ चैतमा सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी १०० बुँदामध्ये २३ नम्बर बुँदामा उल्लेख गरिएको सार्वजनिक सेवा प्रक्रियालाई डिजिटल, ट्र्याकिङयोग्य र समयबद्ध बनाउने लक्ष्यअनुसार यो कदम चालिएको हो।

नयाँ प्रणालीमार्फत सेवा प्रवाहको समय र प्रक्रियाबारे जानकारी लिन सकिने भएकाले सेवाग्राही र सम्बन्धित कार्यालय दुवैलाई सहजता र पारदर्शिता बढ्ने अपेक्षा गरिएको विभागले जनाएको छ।