बजेटबारे अर्थमन्त्री वाग्लेले गरे पूर्व अर्थमन्त्रीहरूसँग छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि ८ पूर्व अर्थमन्त्रीसँग सुझाव लिएका छन्। काठमाडौंमा भएको छलफलमा उनीहरूले बजेटलाई संरचनात्मक सुधार, यथार्थपरक राजस्व लक्ष्य र प्रभावकारी खर्च व्यवस्थापनमा केन्द्रित गर्न सुझाव दिएका छन्। पूर्व अर्थमन्त्रीहरूले पूर्वतयारी बिना गरिने टुक्रे आयोजनामा बजेट नहाल्न, ठूला आयोजनाको संख्या घटाउन र राष्ट्रिय गौरवका सीमित परियोजनामा मात्रै ध्यान दिनुपर्नेमा जोड दिएका छन्। ऊर्जा, कृषि, पर्यटन, उद्योग, वित्तीय क्षेत्र सुधार तथा निजी क्षेत्रको लगानी प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने उनीहरूको सुझाव छ।

त्यसैगरी, राजस्व लक्ष्य यथार्थपरक बनाउन, कर प्रणाली सरल बनाउन, सरकारी खर्च नियन्त्रण गर्न र संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन सुझाव दिइएको छ। पूर्व अर्थमन्त्रीहरूले निजी क्षेत्रसँग सहकार्य बढाउन र दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन्।