इरानसँगको सम्झौता धेरै हदसम्म निष्कर्षमा पुगेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई

 

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता धेरै हदसम्म निष्कर्षमा पुगेको र यसको विस्तृत विवरण चाँडै सार्वजनिक गरिने बताएका छन्। शनिबार थप विवरण नदिई उनले उक्त सम्झौतामा स्ट्रेट अफ होर्मुज पुनः खोल्ने विषय समावेश हुने उल्लेख गरेका हुन्।

यसअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सरकारी टेलिभिजनसँग कुरा गर्दै पछिल्लो साता अमेरिका र इरानका दृष्टिकोणहरू नजिकिँदै गएको बताएका थिए। तर, उनले यसको अर्थ प्रमुख मुद्दाहरूमा सम्झौता भइसकेको भन्ने नहुने चेतावनी दिँदै अमेरिकीहरूले ‘विरोधाभासपूर्ण अभिव्यक्ति’ दिइरहेको आरोप समेत लगाए।

 

सामाजिक सञ्जालमा ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार र अन्य देशका नेताहरूसँग शान्तिसम्बन्धी समझदारी पत्रको विषयमा निकै राम्रो कुराकानी भएको दाबी गरेका छन्। ट्रम्पले संयुक्त राज्य अमेरिका, इस्लामिक रिपब्लिक अफ इरान र सूचीकृत अन्य विभिन्न देशहरूबिच अन्तिम रूप दिन बाँकी रहेको एउटा सम्झौताको धेरैजसो भाग तय भइसकेको उल्लेख गरे। सम्झौताका अन्तिम पक्ष र विवरणहरूमा अहिले छलफल भइरहेको र ती चाँडै घोषणा गरिने उनले बताए।

 

उनले शनिबार नै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पनि फोनवार्ता भएको र त्यो निकै राम्रो रहेको जानकारी दिए। राष्ट्रपति ट्रम्पले सम्झौताको थप विवरण नदिए पनि जुनसुकै सम्झौताले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट पूर्ण रूपमा रोक्ने कुरामा जोड दिएका छन्।

 

यसैबिच, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शान्ति स्थापनाका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको असाधारण प्रयासको प्रशंसा गर्दै उनलाई बधाई दिएका छन्। उनले ट्रम्पसँगको फोनवार्ता निकै उपयोगी र फलदायी रहेको बताए।

 

पाकिस्तानले यस शान्ति सम्झौताका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै वार्तामा सहयोग पुर्‍याइरहेको छ। सरिफले सामाजिक सञ्जाल एक्समा एक वक्तव्य जारी गर्दै आफूहरूले चाँडै नै अर्को चरणको वार्ताको आयोजना गर्ने आशा राखेको उल्लेख गरे।

 

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण गरेपछि पश्चिम एसियामा द्वन्द्व चर्किएको थियो। इरानले पनि इजरायल र खाडी क्षेत्रका अमेरिका समर्थित मुलुकहरूमाथि आक्रमण गरेर त्यसको जवाफ दिएको थियो। अप्रिलको सुरुवातमै इरानमा युद्धविरामको सहमति भएको थियो र त्यसयता वासिङ्टन र तेहरान दीर्घकालीन शान्ति सम्झौताका लागि वार्तामा संलग्न छन्।

 

शनिबार सरकारी टेलिभिजनसँग बोल्दै इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले पनि समझदारी पत्र बारे चर्चा गरे। उनले इरानको उद्देश्य १४ बुँदे खाकामा आधारित सम्झौतामा पुग्नु रहेको स्पष्ट पारे। बाकाईले अहिले समझदारी पत्रलाई अन्तिम रूप दिने प्रक्रिया चलिरहेको र आगामी ३० देखि ६० दिनभित्र थप वार्ताहरू गरेर अन्ततः अन्तिम सम्झौतामा पुग्न सकिने बताए।