कञ्चनपुर–कमला सडक खण्ड विस्तारमा भएको ढिलासुस्तीविरुद्ध स्थानीयले सिरहाको गोलबजारमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

 

४ जेठ, सिरहा । गोलबजार नगरपालिका-४ स्थित निपनियामा स्थानीयले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्गअन्तर्गत कञ्चनपुर–कमला सडक विस्तार आयोजनामा भइरहेको ढिलासुस्तीविरुद्ध उनीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।

स्थानीय नागरिक, व्यवसायी र नेताहरुले आज शुक्रबार बिहान पनि साढे एक घण्टा सडक अवरुद्ध गराएका हुन् । स्थानीयहरूका अनुसार ‘चाइना रेलवे नं. २ इन्जिनियरिङ ग्रुप’ ले ठेक्का लिएको करिब ७ वर्ष बितिसक्दा पनि सडक निर्माण सम्पन्न गर्न नसक्दा सर्वसाधारणले दैनिक सास्ती खेप्नुपरेको छ ।

सामान्य वर्षा हुँदा समेत सडक हिलाम्मे भएर आवतजावत ठप्प हुने, विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने तथा पानी र हिलोका कारण विभिन्न रोग तथा छालासम्बन्धी समस्या बढ्दै गएको स्थानीय दिनेश नायकले गुनासो गरे ।

स्थानीय नेता प्रमेश्वर साहका अनुसार आन्दोलनपछि कम्पनीका प्रतिनिधि तथा स्थानीय तहका पदाधिकारीसँग बिहान १० बजे समस्या समाधानका लागि छलफल गर्ने सहमति भएपछि अवरुद्ध राजमार्ग खुलाइएको हो । उनले चेतावनी दिँदै भने, ‘यदि बैठकबाट सन्तोषजनक निष्कर्ष निस्किएन भने पुनः कडा आन्दोलनमा उत्रिन्छौँ ।’

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने लहान, गोलबजार, मिर्चैयालगायत बजार क्षेत्रमा सडक निर्माणले पूर्णता नपाउँदा नागरिकले सास्ती भोगेका छन् ।