आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। शुक्रबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको तुलनामा यसपटक बजेटको आकार उल्लेख्य रूपमा बढाइएको जानकारी दिए। गत आर्थिक वर्षमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएका थिए। यसपटकको बजेट त्यसको तुलनामा ठूलो हो। सरकारले कुल विनियोजनमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष चालु खर्चका लागि ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको थियो।
त्यस्तै, पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ। गत वर्ष पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ छुट्याइएको थियो। वित्तीय व्यवस्थापनतर्फ सरकारले ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री वाग्लेले जानकारी दिए। सरकारले पूर्वाधार विकास, आर्थिक गतिविधि विस्तार र सार्वजनिक सेवा प्रभावकारी बनाउने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ।


















