संयोग : जन्मदिनमै बजेट प्रस्तुत गरे ‘ग्लोबल फेस’ मानिने अर्थमन्त्री वाग्लेले

दौरा सुरुवालमा ठाँटिएर संसद पुगेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निधारमा सानो रातो टीका लगाएका छन् । कालो भादगाउँले टोपीले उनलाई अझै सुहाएको देखिन्छ । अरु बेला खासै नोटिस नहुने उनको टीका आज प्रस्ट देखिएको छ । त्यसाे त उनी सधैँभरि यसरी टीका लगाउँदैनन् ।

दुवै सदनका सदस्य सहभागी बैठकमाझ भाषण गरिरहेका ‘ग्लोबल फेस’ मानिने वाग्लेको संयोग यस्तो पर्‍यो परेको छ कि, बजेटकै दिन उनको जन्मदिन परेको छ । सञ्चार सल्लाहकार नवीन ढुंगानाले अर्थमन्त्री वाग्लेको आज अङ्ग्रेजी महिनाको जन्मदिन भएको जानकारी दिए । आजभन्दा ५२ वर्षअघि (२९ मे, १९७४) मा गोरखाको शहीद लखन गाउँपालिका– ८ मा जन्मिएका हुन् ।

वाग्लेले बूढानीलकण्ठ स्कुलबाट माध्यमिक तहसम्मको अध्ययन पूरा गरेका हुन् । २०४६ सालमा एसएलसी पास गरेका उनी त्यो बेला बोर्ड सेकेन्ड भएका थिए । वाग्लेले अस्ट्रेलियाबाट विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

उनले स्नातकोत्तर हार्भर्ड युनिभर्सिटीबाट गरेका हुन् भने अमेरिकाबाट अन्तर्राष्ट्रिय विकास/सार्वजनिक नीतिमा स्नातकोत्तर र बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक अध्ययनसमेत गरेका छन् ।

वाग्ले अन्तर्राष्ट्रिय रूपमा परिचित अर्थशास्त्रीसमेत हुन् । उनले विश्व बैंक र यूएनडीपीमा रहेर अर्थशास्त्रीको रूपमा काम गरिसकेका छन् ।