अमेरिकी उपविदेशमन्त्री सारा आज साँझ नेपाल आउँदै

 

काठमाडौँ, १६ जेठ । अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीन दिने भ्रमणका लागि आज साँझ नेपाल आउँदै छिन्।

हिजो भारत आइपुगेकी उनी उतैबाट नेपाल आउन लागेकी हुन्। वर्तमान बालेन सरकार गठन भएपछि अमेरिकाबाट हुन लागेको यो नै सबैभन्दा उच्च तहको भ्रमण हो।

नेपालस्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा भाग लिन उनी नेपाल आउन लागेकी हुन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर क्षेत्रीका अनुसार नेपाल बसाइका क्रममा उपविदेशमन्त्री रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटवार्ता गर्ने कार्यक्रम छ।

नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले गत जेठ ६ गते बिहान ९:१० बजे सगरमाथाको सफल आरोहण गरेका थिए। उनकै सम्मानमा दूतावासले ‘सेभेन समिट ट्रेक्स’सँगको सहकार्यमा उक्त समिट आयोजना गर्न लागेको हो।

बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म चल्ने एकदिने विशेष कार्यक्रममा हिमाल, पर्वतारोहण, साहसिक पर्यटन, उच्च हिमाली अनुसन्धान तथा अभियान व्यवस्थापनसँग सम्बन्धित व्यक्तिहरूलाई एउटै मञ्चमा ल्याइने बताइएको छ।

स्रोतका अनुसार उपविदेशमन्त्री रोजर्सले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटघाट गर्ने कार्यक्रम रहे पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग भने भेट हुनेछैन।