काठमाडौं। युवा ज्योतिषी भवेशले ज्योतिषशास्त्रलाई मानव जीवन, प्रकृति तथा ब्रह्माण्डीय प्रभावहरूको अध्ययन गर्ने प्राचीन र महत्वपूर्ण विज्ञानका रूपमा व्याख्या गर्दै यसको गहन अध्ययन र शुद्ध अभ्यासमा जोड दिएका छन्।
उनका अनुसार ज्योतिष भनेको सौर्यमण्डलमा रहेका ग्रह, तारा तथा नक्षत्रहरूको स्थिति र तिनबाट उत्पन्न हुने प्रभावलाई गणितीय आधारमा अध्ययन गरी पृथ्वीमा रहेका जड तथा चेतन वस्तुमाथि पर्ने असरको विश्लेषण गर्ने विद्या हो। उनले वेदसँगै विकसित भएको ज्योतिषशास्त्रलाई वैदिक ज्ञानको महत्वपूर्ण अंगका रूपमा व्याख्या गरेका छन्।
भवेशले ज्योतिषशास्त्रको ऐतिहासिक विकासक्रमबारे चर्चा गर्दै यसको प्रारम्भ प्राचीन सभ्यताहरूबाट भएको र समयसँगै विभिन्न क्षेत्र तथा संस्कृतिअनुसार यसको अभ्यासमा विविधता आएको बताए। भारतीय उपमहाद्वीपमा प्रचलित ज्योतिषशास्त्रमा स्थानीय दर्शन, परम्परा र सामाजिक मान्यताहरूको प्रभाव देखिने उनको भनाइ छ।
ज्योतिषशास्त्रमा १२ राशी, नौ ग्रह, २७ नक्षत्र तथा विभिन्न ग्रहयोग, दृष्टि, दशा र अन्तरदशाका आधारमा फलादेश गरिने परम्परा रहेको उल्लेख गर्दै उनले ग्रहहरूको स्थिति र आपसी सम्बन्धलाई विश्लेषण गरेर व्यक्तिको जीवनका विविध पक्षहरूको अध्ययन गरिने बताए।
उनका अनुसार मङ्गल, शुक्र, वृहस्पति, शनी, सूर्य, चन्द्र र बुधजस्ता ग्रहहरूका आ-आफ्नै विशेषता र प्रभावहरू रहने विश्वास ज्योतिषशास्त्रमा स्थापित छ। त्यसैगरी राहु र केतुलाई पनि फलादेशमा महत्वपूर्ण मानिने गरिएको छ।
भवेशले ज्योतिषशास्त्रलाई केवल भविष्यवाणी गर्ने माध्यमका रूपमा नभई व्यापक अध्ययन र अनुसन्धानको विषयका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। उनले योग्य अध्ययन, गणितीय विश्लेषण र शास्त्रीय ज्ञानबिना गरिएको फलादेशले यस विद्याको विश्वसनीयतामाथि प्रश्न उठाउने बताए।
“ज्योतिष विज्ञान आफूमा पूर्ण सत्य विज्ञान हो भन्ने विश्वास धेरै ज्योतिषविद्हरूको रहेको छ। तर समयसँगै यसको अभ्यासमा विकृति पनि देखिएको छ,” उनले भने, “पर्याप्त अध्ययन र ज्ञानबिना केही व्यक्तिहरूले आफूलाई ज्योतिषविज्ञ वा विशेषज्ञका रूपमा प्रस्तुत गर्दा यस विद्याको गरिमा प्रभावित भएको छ।”
उनले वर्तमान समयमा ज्योतिषशास्त्रलाई आयआर्जनको साधन मात्र बनाउने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै गहन अध्ययन, अनुसन्धान र जिम्मेवार अभ्यासमार्फत यसको मौलिकता तथा विश्वसनीयता जोगाउनुपर्ने आवश्यकता औँल्याए।
भवेशका अनुसार ज्योतिषशास्त्रको सही अभ्यासका लागि ग्रह, नक्षत्र, राशी, दशा प्रणाली तथा गणितीय पक्षहरूको गहिरो अध्ययन अपरिहार्य छ। उनले ज्योतिषलाई अड्कल वा मनोवैज्ञानिक प्रभावको आधारमा होइन, अध्ययन र विश्लेषणको आधारमा बुझ्नुपर्ने धारणा व्यक्त गरे।



















