महँगा गाडीमा कर बढ्दा खासै फरक पर्दैन : स्वर्णिम वाग्ले

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ५० लाखसम्मका गाडीमा मूल्य घट्ने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघद्वारा आयोजित बजेटपछिको अन्तरक्रियामा उनले विलासी गाडीमा मात्रै कर बढेको बताएका छन् । उनले केही वर्षअघिसम्म विद्युतीय गाडीको प्यानिट्रेशन बढाउन धेरै छुट दिए पनि अहिले आवश्यकता अनुसार कर लगाएको उनको भनाइ छ ।

‘अहिले १ करोडसम्मका विद्युतीय गाडी चढेर हिँड्नु विलासिता हो । यो सबैले स्वीकार गर्नुपर्छ । प्रधानमन्त्रीले ५० लाख तलका गाडीमा नबढाउन निर्देशन दिनुभएको थियो । ५० लाख माथीका गाडीमा बढाउँदा खासै फरक नपर्ने आशय थियो ।’

उनले व्यवसायीहरू किलोवाटका आधारमा गाडी भित्र्याउँदा महालेखाले प्रश्न उठाएपछि तनावमा देखिएको बताएका छन् । उनले किलोवाटको सट्टा मूल्यका आधारमा लगाइएको करले अटो व्यवसायीलाई समेत राहत महसुस भएको बताएका छन् ।