संसदमा प्रधानमन्त्रीको हाजिर जाँच गर्न माग गर्दै हर्क साम्पाङले भने– छैन भने पदमुक्त हुनुपर्छ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा हाजिर गरे–नगरेको जाँच गर्न माग गरेका छन् । यदि अभिलेखमा प्रधानमन्त्रीले हाजिर नगरेको पाइए उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने नियम रहेको साम्पाङले जिकिर गरे ।

संसद बैठकमा उनले भने, ‘प्रधानमन्त्री अस्ति संसद आउँदा हाजिर गर्नुभयो कि भएन ? उहाँको हाजिरी हेर्न अभिलेख शाखालाई अनुरोध गर्छु । हाजिर नगरेको भए प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ । प्रतिनिधिसभा नियमावलीको नियम ७७ को १ ले कुनै पनि व्यक्ति प्रतिनिधिसभा सदस्य नरहेको हकमा प्रधानमन्त्री पदबाट मुक्त हुनुपर्ने व्यवस्था छ । उहाँ कतिचोटि आउनुभो र हाजिर गर्नुभो देखाइदिन अनुरोध गर्छु ।’

उनले प्रधानमन्त्री शाहले नेपालले भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्तिका सम्बन्धमा सदनसँग नभई ३ करोड नेपालीसँग माफी माग्नुपर्ने बताए ।