नेकपा (एमाले) को ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशाला बुधबारदेखि काठमाडौंमा सुरु भएको छ। कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका छन्। २१ फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्। काठमाडौंको कार्की बैंक्वेटमा आयोजित कार्यक्रमको उद्घाटन ओलीले गमलामा रोपिएको बिरुवामा पानी हालेर गरेका थिए।एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार पार्टीको सांगठनिक सुदृढीकरण, गतिशीलता र सदस्यता व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले केन्द्रीय संगठन विभागले कार्यशालाको आयोजना गरेको हो।
कार्यशालामा पार्टीका सबै प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटीका अध्यक्ष, संगठन विभाग प्रमुख तथा विभिन्न जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागिता रहेको एमालेले जनाएको छ। दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा सदस्यता विस्तार, नवीकरण प्रक्रिया, संगठन निर्माण तथा पार्टीलाई थप सशक्त बनाउने भावी योजनाबारे छलफल र अभिमुखीकरण गरिने कार्यक्रम रहेको छ।


















