इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि आगामी जुन २१ आसपास अन्तिम संस्कार गरिने भएको छ।
उनलाई आफ्नै इच्छाअनुसार मशहद सहरस्थित इमाम रजा दरगाह नजिकै दफन गरिने बताइएको छ।तेहरान, कोम र मशहदमा हुने अन्तिम संस्कार कार्यक्रममा करिब २ करोड मानिस सहभागी हुन सक्ने अनुमान गरिएको छ । तीन दिनसम्म सर्वसाधारणलाई श्रद्धाञ्जलीका लागि समय दिइनेछ ।
मुख्य समारोह तेहरानमा करिब २४ घण्टा चल्ने र त्यसपछि पार्थिव शरीरलाई धार्मिक सहर कोम हुँदै मशहद लगिने योजना रहेको छ । दफनअघि सडक परिक्रमा पनि गराइने बताइएको छ । इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका अनुसार गत फेब्रुअरी २८ मा तेहरानस्थित उनको निवासमा अमेरिका र इजरायलले गरेको संयुक्त हवाई आक्रमणमा खामेनीको मृत्यु भएको थियो ।
आक्रमणको समयमा बंकरमा रहेका खामेनी लगातारको मिसाइल र ड्रोन प्रहारबाट गम्भीर घाइते भएका थिए, जसको पछि इरानी सुरक्षा स्रोतहरूले मृत्युको पुष्टि गरेका थिए । उक्त आक्रमणमा उनीसँगै इरानका कयौँ वरिष्ठ सैन्य कमाण्डर, गुप्तचर अधिकारी र सुरक्षाकर्मीहरूको पनि ज्यान गएको थियो ।


















