साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो: सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधि, कृत्रिम बौद्धिकता र ‘एल्गोरिदम’द्वारा निर्देशित वर्तमान विश्वमा पनि साहित्यले मानव सभ्यता र जीवन–जगत्लाई बुझ्ने सशक्त आधारभूत माध्यमका रूपमा काम गरिरहेको बताएको छ ।

आज यहाँ आयोजित ‘हिमालयन लिट्रेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप’ मा उनले साहित्यले समाज र मानिसलाई आत्मचिन्तन तथा मानवीय संवेदनालाई जोडेको बताए । “एल्गोरिदम, डेटा र तीव्र गतिले आकार दिइरहेको विश्वमा मानिसहरू अझै किन कविता लेख्छन् रु किन कथा सुनाइरहन्छन् रु किनकि साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सबैभन्दा सशक्त माध्यम हो”, उनले भने ।

यस वर्षको महोत्सवको विषयवस्तु सान्दर्भिक रहेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले विश्व राजनीति, अर्थतन्त्र र प्रविधिमा आएको तीव्र परिवर्तनका बीच पनि मानिसहरू अर्थ, सम्मान, पहिचान र आशाको खोजीमा रहेका बताए । “सूचना प्रविधिको युगमा हामी पहिलेभन्दा धेरै जोडिएका छौँ तर एकअर्कालाई पहिलेभन्दा धेरै बुझ्न सकेका छैनौँ । यही कारण साहित्य अपरिहार्य बन्छ । साहित्यले तीव्र गतिमा दौडिरहेको संसारलाई केही समय रोक्न बाध्य बनाउँछ”, उनले भने ।

उनले कविता, उपन्यास र अनुवादको भूमिकाबारे चर्चा गर्दै लेखकहरूले केवल पाठ सिर्जना मात्र नगरी मानवतालाई जोगाइरहेका बताए । आफूले झण्डै एक दशक नेपाली साहित्य र सङ्गीतमा केन्द्रित रेडियो कार्यक्रम सञ्चालन गरेको अनुभव सुनाउँदै उहाँले साहित्य र सङ्गीतले राजनीति, भूगोल र सामाजिक विभाजनले नपुग्ने ठाउँसम्म सम्बन्ध विस्तार गर्नसक्ने बताए ।

मुलुकको सांस्कृतिक विविधता र भाषिक सम्पदाबारे चर्चा गर्दै उनले नेपालमा १२० भन्दा बढी भाषा बोलिने र हरेक भाषाको आफ्नै विशिष्टता रहेको उल्लेख गरे । “हरेक भाषाले आफ्नो विश्वदृष्टि बोकेको हुन्छ । हरेक समुदायका कथा, लोकसाहित्य, मिथक र स्मृतिले हाम्रो साझा पहिचानलाई समृद्ध बनाएका छन्”, उनले भने । आधुनिक सञ्चार प्रणाली र सामाजिक सञ्जालको विकास हुनुअघि पनि कथा वाचन, लोकगीत र मौखिक परम्पराले समाजलाई जोडेको उल्लेख गर्दै सञ्चारमन्त्री तिमिल्सिनाले साहित्य मानव सभ्यताको विकाससँगै निरन्तर परिस्कृत हुँदै आएको बताए ।

आफ्नो साहित्यिक यात्राबारे चर्चा गर्दै उनले सन् २००६ मा नेपाली गजलसङ्ग्रह प्रकाशन गरेको सुनाए । कविताले तथ्याङ्क, नीति र औपचारिक भाषणले व्यक्त गर्न नसक्ने सत्यलाई अभिव्यक्त गर्न सक्ने उहाँको भनाइ थियो । नेपाली साहित्यिक परम्पराबारे चर्चा गर्दै उहाँले आदिकवि भानुभक्त आचार्यदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटासम्मका स्रष्टाले स्थानीय यथार्थलाई सार्वभौमिक मानवीय चिन्तनसँग जोडेका बताए । वर्तमान पुस्ताका लेखक, पत्रकार, अनुवादक र सर्जकहरूले पनि यही परम्परालाई नयाँ चुनौतीसँग जोड्दै अगाडि बढाइरहेका उनले बताए ।

विभिन्न साहित्यिक मेला तथा जमघटको महत्त्वबारे चर्चा गर्दै उनले यस्ता मञ्चहरूले विचारलाई सीमापार र विश्वभर स्वतन्त्र रूपमा यात्रा गर्न सहयोग गर्ने बताए । उनले अन्तरराष्ट्रिय साहित्यकारहरूको काठमाडौँ भेलाले नेपालका हिमाल, सम्पदा, संस्कृति, भाषा र कथाहरूलाई विश्वसमुदायसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सञ्चारमन्त्री तिमिल्सिनाले समाज निर्माणमा पूर्वाधार, संस्था र अर्थतन्त्र जतिकै कल्पना, भाषा, संस्कृति र स्मृतिको पनि महत्त्वपूर्ण भूमिका हुने बताए । “सरकारले पूर्वाधार निर्माण गर्न सक्छ । संस्थाले प्रणाली बनाउन सक्छ । अर्थतन्त्रले समृद्धि दिन सक्छ तर लेखक, कलाकार, कवि र कथाकारहरूले राष्ट्रको भित्री जीवन निर्माण गर्छन्”, उनले भने ।

साहित्यिक मेलाहरूले सार्थक संवाद, सिर्जनात्मक सहकार्य तथा सर्जकहरूबीच अनुभव आदानप्रदान गर्ने महत्त्वपूर्ण थलोका रूपमा भूमिका निर्वाह गरिरहेका उनको कथन थियो ।