राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको असन्तुष्टि खुला विद्रोहमा परिणत भएको छ। पार्टीका महामन्त्री डा. धवलशमशेर राणानिकट केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा विभिन्न तहका १८३ नेता-कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्। पार्टी छाड्नेहरूमा शीर्ष नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ र नारायणप्रसाद कोइरालासहित केन्द्रीय पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, प्रदेश तथा जिल्ला तहका नेताहरू रहेका छन्। असन्तुष्ट पक्षले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा यो केवल पहिलो चरणको बहिर्गमन भएको संकेत गर्दै आगामी दिनमा थप नेता-कार्यकर्ता बाहिरिन सक्ने जनाएको छ।
राजीनामा दिने नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति गम्भीर प्रश्न उठाएका छन्। उनीहरूले नेतृत्वमा हिनभावना, आत्मकेन्द्रित कार्यशैली तथा संगठनलाई व्यक्तिगत स्वार्थअनुसार सञ्चालन गर्ने प्रवृत्ति बढेको आरोप लगाएका छन्। यसका कारण पार्टी आफ्नो मूल नीति, सिद्धान्त र उद्देश्यबाट विचलित भएको दाबी गरिएको छ। विज्ञप्तिमा जनताकेन्द्रित राजनीति गर्ने प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएको उल्लेख गरिएको छ। साथै, केन्द्रीय कार्यसमितिलाई जानकारी नै नदिई तत्कालीन प्रचण्ड नेतृत्वको सरकारको न्यूनतम साझा कार्यक्रममा पार्टी सहभागी भएको विषयप्रति पनि असन्तुष्टि व्यक्त गरिएको छ। राजीनामा दिने समूहले पार्टीभित्र स्वेच्छाचारिता बढ्दै गएको, जवाफदेहिता स्थापित गर्ने प्रयास गर्ने नेता–कार्यकर्तामाथि निरंकुश ढंगले कारबाही गरिएको तथा पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाइएको आरोप लगाएको छ।
उनीहरूले राजसंस्था पुनर्स्थापनाको मुद्दामा समेत नेतृत्व असफल भएको टिप्पणी गरेका छन्। विज्ञप्तिमा राजसंस्थाको पक्षमा आन्दोलनहरू पटक-पटक कमजोर पारिएको तर संसदमा संवैधानिक राजसंस्थाको पक्षमा एउटा पनि प्रस्ताव दर्ता नगरिएको उल्लेख गरिएको छ। राप्रपाको स्थापना भएको मूल मान्यता, उद्देश्य र राजनीतिक एजेन्डालाई नै समाप्त पार्ने मनोवृत्ति नेतृत्वमा देखिएकाले पार्टी परित्याग गर्न बाध्य भएको निष्कर्ष असन्तुष्ट समूहले निकालेको छ। राप्रपाभित्र देखिएको यो सामूहिक बहिर्गमनलाई पार्टी इतिहासकै ठूलो आन्तरिक संकटका रूपमा हेरिएको छ। यस घटनाले पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक भविष्यमा गम्भीर प्रभाव पार्ने अनुमान गरिएको छ।




















