अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनको माग

विपक्षी सांसदले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेका छन् । राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले करका दर हेरफेरको सूचना चुहाएको भन्दै अर्थमन्त्रीमाथि छानबिन गर्न समिति गठनको माग गरेका हुन् ।

‘करका दर हेरफेरको सूचना कसरी आयो ? यो भन्सारको कर्मचारीलाई थाहा हुन्छ ? अर्थमन्त्री, अर्थसविच र राजस्व सचिवलाई थाहा हुने हो । तर, ठूलो अपराध भएको छ । यसैले अर्थमन्त्रीमाथि छानबिन गर्नुपर्छ । यो राजद्रोह हो,’ उनले भने ।

यसअघि आफैँ छानबिन गर्ने र आफैँ सफाइ दिने जस्ता वाक्क लाग्दा घटनाले जेन–जी आन्दोलन भएको भन्दै उनले यस्तो शैली नदोहोर्‍याउन पनि आग्रह गरे । आर्थिक विधेयक संसदको भएको भन्दै संसदमा पेस नै नगरी भकाभक कसको स्वार्थमा परिवर्तन परिवर्तन गरेको भन्दै उनले प्रश्न उठाए ।

‘करका दर हेरफेर गर्ने कुरा सरकारका सचिवलाई थाहा हुँदैन । अर्थमन्त्री र उहाँले स्वीकृत गरेका व्यक्तिलाई मात्रै थाहा हुन्छ,’ शाहीले भने, ‘सूचना लिक भएर ७५३ ईभी केरला नाकाबाट जेठ १४ भन्सार पास हुन्छ । २० गते गाडी आउँछ । यो स्वार्थ नभएर केहो ? सूचना चुहावट नभएर के हो ? छानबिन समिति बनाएर कर्मचारीलाई डाम्ने ? अनि अरुलाई उन्मुक्ति दिने ? नेपालमा अपराध गरेकोमा राजद्रोहको मुद्दा लाग्छ । यो कसले गर्‍याे ? यसको जवाफ संसदमा दिनुपर्छ ।’