एमसीसी अन्तर्गत २९७ किमि प्रसारण लाइन र दुई ठूला सबस्टेसन निर्माण सुरु

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत रातमाटे र न्यू दमौली सबस्टेसन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ।

अमेरिकी सरकारको ५५ करोड डलर अनुदान र नेपाल सरकारको १९.७० करोड डलर लगानीमा सञ्चालन भइरहेको यो परियोजना नेपालको विद्युत् प्रसारण पूर्वाधार विस्तारका लागि महत्वपूर्ण मानिएको छ। परियोजनाअन्तर्गत तीनवटा ४०० केभी क्षमताका सबस्टेसन र ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछन्। हाल लप्सीफेदी-रातमाटे-न्यू हेटौंडा, रातमाटे-न्यू दमौली तथा न्यू दमौली-न्यू बुटवल खण्ड गरी २९७ किलोमिटर लामो प्रसारण लाइनको निर्माण थालिएको हो। निर्माण सम्पन्न भएपछि रातमाटे र न्यू दमौली नेपालकै सबैभन्दा ठूला उच्च-भोल्टेज सबस्टेसनमध्येमा पर्नेछन्। यसले राष्ट्रिय विद्युत् प्रसारण सञ्जाललाई थप मजबुत बनाउने, विद्युत् आपूर्तिको भरपर्दोपन बढाउने तथा क्षेत्रीय ऊर्जा व्यापारमा नेपालको सहभागिता विस्तार गर्ने अपेक्षा गरिएको छ।

सरकार, एमसीसी र नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूले परियोजनालाई नेपालको ऊर्जा सुरक्षा, औद्योगिक विकास र आर्थिक वृद्धिका लागि रणनीतिक महत्वको पूर्वाधारका रूपमा वर्णन गरेका छन्।