यमनको दक्षिणी बन्दरगाह शहर एडेनको सैन्य शिविरमा बिहीबार भएको शक्तिशाली विस्फोटका कारण १२ जना सैनिकको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।
एक सुरक्षा अधिकारीले नाम न छाप्ने सर्तमा एडनको अल–मिम्दाराह क्षेत्रमा सरकार समर्थक जायन्ट्स ब्रिगेडद्वारा सञ्चालित शिविरमा विस्फोट भएको जनाएका छन् । प्रारम्भिक अनुसन्धानले शिविरमा रहेको गोलाबारुद भण्डारण सुविधा भित्र विद्युतीय सर्किट सर्ट भएका कारण विस्फोट भएको सङ्केत गरेको अधिकारीले बताएका छन् ।
स्रोतका अनुसारसर्किट सर्ट भएका कारण लागेको आगो डिपोमा फैलिदा, भण्डारण क्षेत्रभित्र श्रृङ्खलाबद्ध विस्फोट भएको बताएको छ । प्रत्यक्षदर्शीहरूले शिविरबाट आगो र बाक्लो धुवाँ निस्किएको त्यसपछि लगातार विस्फोट भएको रिपोर्ट गरेका छन् ।
घटनाको बारेमा अहिलेसम्म कुनै आधिकारिक सुचना जारी गरिएको छैन, भने क्षतिको परिमाणको विवरण पनि उपलब्ध गरिएको छैन ।


















