धर्म र अध्यात्म १४

यस श्रृँखलामा देशको धर्म र अध्यात्मको केन्द्र भूमि श्रीपशुपतिनाथ मन्दिर परिसर बारे केही तथ्य उजागर गर्ने प्रयास गरिएको छ ।
स्कन्दपुराणमा लिङ्गको अर्थ लयनाल्लिङ्गमुच्यते भनिएको छ । यहाँ यो शब्दले लय वा प्रलय भन्ने बुझाउँछ । लीयते यस्मिनिति लिङ्गम् अर्थात् सम्पूर्ण चराचरजगत् जसमा लीन एवं विलीन हुन्छ, त्यो लिङ्ग हो । सारा ब्रह्माण्ड जहाँबाट उदय र अन्त्य हुन्छ त्यो शिवलिङ्ग हो । शिवलिङ्ग आदि र अनादि छ जसको कहीँ कतै अन्त्य हुँदैन । विष्णु र ब्रह्माले पनि ज्योतिर्लिङ्गको यथार्थ भेउ पाउन सकेका छैनन् । समस्त हिन्दुजगत्का आराध्यदेव पशुपतिनाथको मन्दिर राजधानी काठमाडौँ पूर्वभाग वाग्मतीतटमा छ । पूर्वमा मृगस्थली, पूर्वाेत्तर भागमा गुह्येश्वरीक्षेत्र, पश्चिमक्षेत्रमा भूवनेश्वरी, जयवागेश्वरी, उत्तरक्षेत्रमा विशाल कैलाशक्षेत्र रहेको छ । दक्षिणक्षेत्रमा ६४ ज्योतिर्लिङ्गको प्रतीक स्वरूप रहेको छ । काठमाडौँनगरी बुद्ध र हिन्दुहरूको पवित्र प्राचीन थलो हो । यहाँ हिन्दु र बुद्ध दर्शनमा आधारित धेरै मठ, मन्दिरहरू छन् । वैदिकसनातन धर्मावलम्बीहरूको प्रमुख तीर्थस्थल हो । पशुपतिनाथको मन्दिर पवित्र वागमतीतटमा चित्ताकर्षक रूपमा रहेको छ । नेपाली छानामाथि छानायुक्त मण्डपशैलीमा निर्मित मन्दिर सर्वप्रथम २ हजार वर्ष पहिले बनेको अनुमान छ । पटकपटक यो मन्दिरको जीर्णाेद्धार हुँदै आएको छ ।
गोपालराजवंशावलीअनुसार पशुपतिनाथको मन्दिर काकवर्माका छोरा सुपुष्पदेवले बनाएका हुन् । वि.स. ७९० को जयदेव द्वितीयको पशुपतिमा रहेको शिलालेखले यो पुष्टि गर्छ । उनी लिच्छविवंशका चाराँै राजा हुन् । मानदेव प्रथमभन्दा सुपुष्पदेव ३९ पुस्ता अर्थात् ९७५ वर्षजति अघिका मानिन्छन् । सामान्यतया यो समय विक्रम पूर्व ४५४ वर्ष मान्न सकिन्छ । साविकको मन्दिर ५ तले थियो । मध्यकालमा पशुपतिमन्दिरको जीर्णोद्वार शिवदेवले गराए । वि.स. ११५६–११८३ को समयमा मन्दिरको पुनःनिर्माण भयो । मन्दिरको पछिल्लो स्वरूप भने शिवसिंह मल्ल (वि.स. १६३५ –१६७७) की रानी गंगारानीले गरेको जीर्णोद्वार पछि कायम हुन आएको हो । वि.स. १७५४मा भूपालेन्द्र मल्लले हालको स्वरूप तयार गराए । ईतिहासकार डि.आर.रेग्मीले मन्दिरको अहिलेको स्वरूपको वास्तुकलालाई वि.स. १७४९ मान्नु भएको छ । यहाँको शिवलिङ्ग यो भन्दा धेरै पूर्व समयमै थियो । महाभारतको वनपर्वमा माहेश्वरपुरको उल्लेख भई पशुपतिको संकेत पाइन्छ । यजुर्वेद, अथर्ववेद आदिमा पशुपति वोधकमन्त्र एवं पशुपतेः पुरी तत् भनी पशुपतिपुरीको चर्चा हुनुले पशुपतिको अस्तित्व वेदजतिकै सनातन छ । पशुपतिको वर्तमान मन्दिर १ तह भएको मण्डपमाथि निर्मित छ । मण्डप जमिनसतहभन्दा झण्डै १ मि. २० से.मी.को उचाइमा छ, मन्दिर वर्गाकार छ । यसको लम्बाइँ १५ मि.२६ से.मी. छ भने चौडाइ पनि १५ मि.२६ से.मी. छ । मन्दिर २ छाना नेपाली शैलीमा छ । भूइँदेखि गजुरसम्म २३ मि.७ से.मी.अग्लो छ भने भूइँदेखि पहिलो तलाको उचाइ ८ मि.२८ से.मी अग्लो छ । मन्दिरको गर्भगृहको बाहिरपट्टि पूर्व, दक्षिण र उत्तरमा चारैतिर करिव ८–८ फिटको प्रदक्षिणापथ छ । ४ ढोका खुलेकोबेला दर्शनार्थीहरू त्यहाँ गई दर्शन गर्न सक्छन् । पश्चिमपट्टि भने उत्तरदक्षिण प्रदक्षिणापथको निकास पश्चिममा पर्खालले वारिएकोले पूर्व, दक्षिण उत्तरझैँ पश्चिमपट्टि भित्री प्रदक्षिणास्थलमा जान सकिन्न । त्यो स्थान पूजा सामग्री राख्ने, चन्दन घोट्ने आदि गरिन्छ । यसर्थ पश्चिमपट्टिबाट दर्शन गर्दा बाहिरी ढोकाबाट गर्नुपर्छ, जुन मूलढोका हो । अन्य ढोका बन्द हुँदा यो खुलै हुन्छ । पुजारी, भँडारीहरू यही ढोका हुँदै भित्र जान्छन् ।
प्राचीन नेपालको इतिहास गोपालवंशी राजाहरूबाट सुरु भएको छ । शिवधर्मावलम्बी गोपालवंशीहरूबाट मन्दिर निर्माण भएको आंकलन गर्न सकिन्छ । पछिल्ला दिनहरूमा किरात राजाहरूबाट पनि यसमा योगदान पुग्दै आएको हो । लिच्छवि एवं मल्लकालिक समयमा पनि यो मन्दिरको संरक्षण हुँदै आयो । पन्ध्रौँशताब्दीमा राजा प्रतापमल्लले मन्दिर मर्मत गराउदै यहाँ धेरै देवदेवीहरूको मूर्ति स्थापना गरे । आठाँै शताब्दीमा आद्यगुरु शङ्कराचार्य यहां आएका थिए भनिन्छ । उनको मन्दिर पशुपतिनाथको मूलढोका पश्चिम दिशामा रहेको छ । मन्दिरको मुख्य प्रवेशद्वार पश्चिम हो । मुख्यद्वारबाट प्रवेश गर्नासाथ ठूलो बसाहा (नन्दी) को दर्शन मिल्दछ । पशुपतिका बाहनका रूपमा रहेका नन्दीले भगवान््को सुरक्षा, पालोपहरा दिने गर्छन् । पश्चिमक्षेत्र प्रवेश गर्नासाथ दाहिनेपट्टि रामभक्त हनुमान्को मूर्ति छ । फराकिलो सिँढी भएको पशुपतिको दक्षिणढोकामुनि ताम्रपत्र छ, जहाँ हरेक पूर्णिमामा भगवान््लाई भोग लगाइन्छ । वाग्मती ब्रह्मनालक्षेत्र हँुदै अग्ला सिँढीहरू उक्लदै पूर्वी प्रवेशद्वारबाट पनि मन्दिरपरिसर पुग्न सकिन्छ । यहाँबाट प्रवेश गर्नासाथ नारायणको शिला सुकला अवस्थामा दर्शन हुन्छ । पूर्वी भागमा सरस्वती आदिका मूर्तिहरू रहेका छन् । त्यस्तै मुक्तिमण्डपक्षेत्रमा सन्तापहरेश्वर र मुक्तेश्वर भगवान्् हुनुहुन्छ । ठूलो पाटी सत्तलको रूपमा रहेको यो क्षेत्रमा नित्य ब्राह्मणहरू रुद्रीपाठ गर्दछन् । भजन, कीर्तन गर्ने मुख्यक्षेत्र पनि यही भएको छ । दक्षिणक्षेत्रमा राधाकृष्णको मनमोहक मूर्ति छ । दक्षिणक्षेत्रमा श्रीभैरबको विशाल मूर्ति छ । पश्चिमक्षेत्र उच्च स्थानमा श्रीसत्यनारायण मन्दिर छ । दक्षिणतर्फ यज्ञशाला, यज्ञकुण्ड, नवदुर्गा, नैऋत्य कोणमा श्रीनवग्रह र उत्तरक्षेत्रमा श्रीवासुकीदेवता रहेकाछन् । पशुपतिनाथको पूर्वी ढोकामा श्रीब्रह्माजीको आधा शिर प्रस्तररूपमा रहेको छ । शिरच्छेदन हुँदा उनको आधा शिर यहाँ र आधा बद्रीनारायणक्षेत्र ब्रह्मकपाली गर्ने ठाउँमा रहेको छ । ब्रह्माजीको मन्दिर नवौ,ँ दशौँ शताव्दीको हो । मुक्तिमण्डपमा सूर्य, आनन्देश्वर, धनेश्वर, रत्नेश्वर र ब्रह्माजीको मन्दिर छ । आग्नेय कोणपट्टि सीतलादेवी, कीर्तिमुखभैरव रहेका छन् । पूर्वपट्टि ढुण्डीगणेश, चाँगुनारायण, सरस्वती, अष्टभैरवहरूका प्रस्तर मूर्तिहरू छन् ।
थप तथ्यहरूः पशुुपतिनाथमन्दिरको दक्षिणपट्टि रहेको कीर्तिमुखभैरवको सातौँ, आठौँ शताव्दीको हो । उन्मत्तभैरवको स्थापना वि.सं. १५२७ मा नारायण भट्टबाट भएको हो । वि.सं. १७३३ मा पार्थिवेन्द्र मल्लले पार्थिवेश्वरमन्दिर र इन्द्रेश्वरमन्दिरको स्थापना गरे । पशुपतिनाथ पूर्वपट्टिको राधाकृष्णमन्दिरको स्थापना वि.सं. १७३४ मा नृपेन्द्र मल्लले गरे । पूवपट्टिकै मुक्तिमण्डपको स्थापना प्रतापमल्लले गरे् । उनले नै वि.सं. १७१२ कोटिलिङ्गेश्वरमन्दिरको स्थापना गराए । पशुपतिनाथका उत्तरतर्पmका गुम्बजशैलीका सबै मन्दिरहरू शाहकालिक कीर्तिहरू हुन् । वासुकीमन्दिर पश्चिमतर्पmका देवालयहरू रत्नकुमारेश्वर, केदारनरसिंहेश्वर, होमेश्वरी भगवतीमन्दिरहरू वद्रीनरसिंह राणाले स्थापना गरे । वि.सं. १९०५ मा उनैले उत्तरतर्पmको बद्रीनाथको मन्दिर स्थापना गरे । वि.सं. २०१६ को मर्मत सुधारपछि पशुपतिनाथमन्दिरप्राङ्गण फराकिलो भयो । त्यसवेला प्राङ्गणस्थित विभिन्न व्यक्तिहरूद्वारा स्थापित अव्यवस्थित शिवलिङ्गहरूलाई रुद्रगारेश्वरतिर सारियो ।वि.सं. १९७० तिर चन्द्रशम्शेरले उत्तर–पश्चिम दिशाका सत्तलहरू बनाउन लगाए । यज्ञशाला भवनको पक्की गर्ने कार्यको श्रेय जुद्धशम्शेरलाई जान्छ ।
शिवपाञ्चायन
हरेक मन्दिरहरू निर्माण गर्दा पायः विष्णु, शिव, सूर्य, देवी, गणेशमध्ये एकलाई प्राथमिकता दिने गरिन्छ । ती मध्ये एकलाई बीचमा पारी अन्यलाई चार कोणतिर राखिन्छ । पशुपतिनाथको मन्दिरमा त्यस्तो ४ कोण मिलाइएको छैन र पनि मन्दिरको मूलगर्भगृहको भित्र ४ कोणमध्ये पूर्वमा गणेश, दक्षिण–पूर्वमा सूर्य, पश्चिम–उत्तरमा विष्णु र दक्षिण–पश्चिममा देवीको मूर्ति स्थापना हुनुले पशुपतिनाथको मन्दिरलाई शिव पाञ्चायनको स्वरूप दिन खोजेको प्रतीत हुन्छ । गर्भगृहका ती मूर्तिहरू मल्लकालमा स्थापित भएका हुन् । पाञ्चायनकै स्वरूपमा मन्दिरमा ५ गजुरहरू छन् । बीचको गजुर पशुपतिनाथको हो । प्रधान देवता भएकाले अन्य गजुर भन्दा यो ठूलो छ । बीचको गजुरका ४ कुनामा साना ४ गजुर छन् । बीचको गजुरमा भगवान््को आयुध त्रिशूल र डमरु छ ।
सिढी र छाना
पशुपतिनाथको बाहिरी सिँढी तथा तल्लो तलको भित्ताहरूमा सङ्गमरमर देखिन्छ । यो राणा प्रधानमन्त्री रणोद्वीप सिंहले राख्न लगाएका हुन् । त्यस अघिका इँटाका भित्ताहरूमा विभिन्न भक्तहरूले राखेका सुवर्णपत्र एवं ताम्रपत्रहरू हाल पशुपतिगोश्वारामा रहेको बुझिन्छ । भुपालेन्द्र मल्लबाट सुरुमा पशुपतिनाथको मन्दिर जीर्णोद्वार भएपछि वि.सं. १८९५ मा सर्वप्रथम राजेन्द्रविक्रम शाहबाट मन्दिरको छाना जीर्णोद्धार भएको हो । पछि माथिल्लो छाना बिग्रेकाले वि.सं. १९२३ श्री ५ सुरेन्द्रबाट छाना जीर्णोद्वार भएको हो । साविकको तामाको छानालाई वि.सं. १९८१ मा श्री ५ त्रिभुवनबाट सुवर्णयुक्त गराइयो । भुपालेन्द्रपछि तामाको छानाबाट सुवर्णको छानामा परिणत गर्ने श्रेय श्री ५ त्रिभुवनलाई गएको छ । मर्मत जीर्णोद्धारका कार्य त्यसपछि पनि हुँदै आएको छ ।
चाँदीका ढोकाहरू
शक्तिवल्लभ अर्यालका भाइ राधावल्लभ अर्याल पशुपतिका उपासक भएकाले पशुपतिनाथको मन्दिरमा चाँदीको ढोका हाल्न चाहन्थे तर उनको संकल्प पूरा हुन सकेन । उनका शिष्यहरूबाट वि.सं. १८७० मा उनको धोको पूरा भयो । चाँदीका ढोकाहरू तयार भए । वि.सं. १८६९ मा रणवहादुर शाहको सम्झनामा गीर्वाणयुद्ध विक्रमले राधावल्लभद्वारा अर्पित ढोकाको दक्षिणपट्टि चाँदीको झल्लर बनाइ अर्पण गरे । वि.सं. १८७० मा झण्डै ११०० सय तोला चाँदी प्रयोग गरी गोरक्ष लक्ष्मीले पश्चिम ढोकालाई चाँदीयुक्त पारिन् । उत्तर ढोकालाई चाँदीयुक्त गर्ने कार्य अमरसिंह थापाले वि.सं. १८७१ मा आफ्ना छोरा मार्पmत् गराए । त्यतिवेला मुलुकमा राजनीतिक स्थिति संक्रमण थियो । अमरसिह अंग्रेज शासन विरुद्ध लड्दै थिए । नेपालको शिर ठाडो पार्ने कामनाले माथिको चाँदीको ढोका भगवान््लाई अर्पण गरेको र उनले राख्न लगाएको ढोकामा नेपालका प्रसिद्ध ६४ लिङ्गहरूको नाम र आकृति कुँदिएका छन् । पूर्वपट्टि ढोकामा चाँदीयुक्त गर्ने कार्य वि.सं. १८७१ मा रणबहादुर शाहकी छोरी विलासवतीले गरिन् । यसरी नेपाल–अंग्रेज युद्धताका ३ वर्ष भित्रमा पशुपतिनाथमन्दिरका ४ ढोका चाँदीका बनेका देखिन्छन् । भित्री गर्भगृहका चारै ढोकाहरू रजतमय भएपछि मन्दिरको आकर्षण झन् बढ्न थाल्यो । त्यसपछि बाहिरी ढोकाहरू पनि भीमसेन थापा तथा धार्मिक अन्य व्यक्तिहरूबाट क्रमशः रजतमय, सुवर्णमय हुंँदै आयो । पशुपतिनाथको मन्दिरको पश्चिम ढोका बाहिरबाट सबैलाई दर्शन खुला छ । पशुपतिनाथको मूललिङ्ग रहेको स्थानमा जाने र छुने अधिकार पशुपतिनाथका पुजारीलाई बाहेक अरूलाई छैन । त्यहाँका भँडारीहरूपनि मूल गर्भगृह भित्र जानसम्म पाउँछन् तर पशुपतिनाथको लिङ्गलाई छुन पाउँदैनन् । यस्तै नियम गोकर्णेश्वर महादेव, इन्द्रेश्वर महादेव, कुम्भेश्वर महादेव मा पनि छ । धरानको पिण्डेश्वर, महोत्तरीको जलेश्वर आदि मन्दिरहरूमा भक्तहरूले छोएरै पूजा गर्छन् । भारतको केदारनाथ मा छोएरै पूजा गरिन्छ । चल लिङ्गलाई छोएरै र अचल लिङ्गलाई भने ठाउँ र चलन अनुसार नछोएर पूजा÷दर्शन गर्ने गरिन्छ । भारतका शैवमन्दिरहरूमा पनि यस्तो चलन छ ।
मूल प्राङ्गगणबाहिर दक्षिणदिशामा कुशेश्वरशिवमन्दिर वरिपरि ५२५ वटा शिवलिङ्गहरू छन् । त्यो क्षेत्रलाई चौसट्ठी भन्ने गरिन्छ । ब्रह्मनालक्षेत्र नजिक विरुपाक्ष (कली) को प्रस्तर मूर्ति छ । त्रिविक्रम वामन, किनारमा एकादशी, द्वादशी र काकेश्वर मूर्तिहरू छन् । नजिकै स्वास्थ्यकेन्द्र एवं धर्मशालाहरू छन् । पशुपतिनाथको मन्दिरको चारैपट्टि सुनका गजुरहरू छन् । माझमा सुनको ठूलो गजुर छ । त्यसमा सुनकै त्रिशूल र डमरु छन् । चारैपट्टि टँुडालहरूमा नृसिँंहका मूर्तिहरू छन् । पूर्वपट्टि टँुडालमा गङ्गा, सरस्वती र लक्ष्मीका मूर्ति छन् । दक्षिण टँुडालमा पाँचपाण्डवहरूका मूर्ति कुँदिएका छन् । पश्चिमपट्टि टँुडालमा श्रीरामका परिवारका मूर्तिहरू छन् । उत्तरपट्टि टँुडालमा गणेश, कुमार र शिव पार्वतीका मूर्तिहरू छन् । पशुपतिनाथभित्र दुईपरिसर छ । ईशानकोणमा ठूलो त्रिशूल छ । त्रिशूलका फेदमा अन्नपूर्णदेवीको पूजा गरिन्छ । पश्चिमपट्टि भित्रीपरिसरमा सानो वसाहा छ । बाहिरी ठूलो बसाहा जंङ्गबहादुरका पुत्र जगत्जङ्गले चढाएका हुन् । ठूलो वसाहा १५ फिट लामो र ८ फिट अग्लो छ । चारैतर्फ ठूला घण्टहरू छन् । वरिपरि द्वीपपात्रहरू छन् । उत्तरपट्टि चण्डभैरव, नटराजेश्वर, होमेश्वर, शेरनरसिंहेश्वर, नटराजेश्वर, विश्वम्भर, केदारनरसिँंहेश्वर, श्रीरत्नामन्दिर, श्रीबद्रीनारायण, श्रीकेदारनारायण, तुलसीमन्दिर अनेकौंँ मन्दिरहरू छन् । पश्चिमपट्टि सोमेश्वर, रत्नेश्वर, रामेश्वर आदि छन् । पशुपति दर्शनपूर्व वागमती स्नान, मृगेश्वरको दर्शन, गौरीघाटको स्नान, किरातेश्वर र गुह्येश्वरीको दर्शन, मृगेश्वरीमा जलार्पण, वत्सला, आकाशभैरवको दर्शन, जयमङ्गला, राज राजेश्वरी र भष्मेश्वरको दर्शन पछि नन्दीको दर्शन गरेर वासुकीनागको दर्शन पछि गणेश, क्षेत्रपाल, उन्मत्तभैरवको दर्शन पछि मूल पशुपति ज्योतिर्लिङ्गको दर्शन गर्नुपर्ने विधान छ । उत्तर कैलाशक्षेत्रबाट पनि मूलमन्दिर पुग्ने बाटो छ भने दक्षिण बज्रघरतिरबाट पनि पशुपति मूलप्राङ्गणमा पुग्न सकिन्छ । भक्तजनहरू चारै दिशाबाट मूल भगवान्को दर्शन गर्न सक्छन् भने चारैतिरबाट प्रवेश गर्न सक्छन् । चारैतिरबाट पाले पहराहरूले सुरक्षाको राम्रो प्रवन्ध गरेका छन् भने जुत्ता चप्पलकक्ष अलि टाढा छ अचेल ।
पशुपतिनाथको मन्दिर २ तले भव्य र विशाल छ । मन्दिरका ढोकाहरू र चौकोसहरू चाँदीले मोडिएका छन् । मन्दिरका काठका टँुडालहरूमा देवीदेवताहरूका मूर्तिहरू कुँदिएका छन् । यहाँ नेपाली परम्परा उत्कृष्ठ काष्ठ कलाकारिताको नमुना देखिन्छ । मन्दिरको छानो स्वर्णजडित छ । धातुको राम्रो कलश, गजुर अनि त्रिशूलले मन्दिरको थप शोभा दिएको छ । पशुपतिनाथमा रहेको त्रिशूलको दर्शन मात्रले पनि देहधारी प्राणीको ३ किसिमको आधिदैविक, आध्यात्मिक र आदिभौतिक तापहरू नष्ट हुन्छन् । मानिसका सम्पूर्ण सन्तापहरू हरण गर्ने महादेव शिवको दर्शन गर्न बिहानैदेखि भक्तजनहरू उत्सुक हुन्छन्, लालयित हुन्छन्, टाढाटाढादेखि यहाँ दर्शनार्थीहरूको खचाखच भीड लाग्ने गर्छ । ४ मूलद्वार पिच्छे नै सिँंहका प्रस्तरमूर्तिहरू छन् । चारैतर्फ पेटी फराकिलो छ । चारै ढोकाबाट दर्शन गर्दा मन्दिरको गर्भगृहभित्र रहेका शिवलिङ्गलाई उस्तै रूपमा देख्न सकिन्छ । दिनको १२ बजे भगवान््को विशेष श्रृंङ्गार हुन्छ । चन्दनले श्रीयन्त्र बनाइन्छ । ज्योतिर्लिङ्गमा सुन चाँदीको मुकुट पहिराइन्छ । पशुपतिमा दाहसंस्कार गर्ने आर्यघाटमा श्री ५ सुरेन्द्रका पालामा हरिप्रियादेवीबाट विरामी राख्ने सत्तल र घाटको निर्माण भएको हो । वीरशम्शेरको पालामा भष्मेश्वरघाट एवं स्थलहरूको पुनःनिर्माण भयो । वि.स. २०१८ तिर रामनाथ भन्ने अघोरी साधुले दाहसंस्कारमा सजिलो होस् भनी टिनको छत हाले । वि.स. १९८२ अघि सतीप्रथा हुन्जेल सती जाने चलन आर्यघाटबाटै हुन्थ्यो ।
वासुकीमन्दिर
पशुपतिमन्दिरप्राङ्गण उत्तरपूर्व दिशामा मण्डप आकारको वासुकीमन्दिर छ । २ तले त्यो मन्दिरभित्र पश्चिमाभिमुख नागराजको मूर्ति रहेको छ । यो मूर्ति शिवलिङ्गको शैलीमा छ । नागको माथिल्लो भाग मानव आकारको छ । जलहरीमा अडेको यो भाग हेर्दा शिवलिङ्गभैmँ देखिन्छ । मूर्ति कालो प्रस्तरमा निर्मित छ । पशुपतिको दर्शन पूर्व वासुकीको दर्शन गर्नुपर्छ । पशुपतिका रक्षक नन्दी, भृङ्गी, गण, क्षेत्र, चार र वासुकीले पाँच ढोकाहरूको रक्षा र नित्य सेवा गर्छन् । यिनले त्यहां जाने भक्तहरूको पनि सुरक्षा गर्छन् । आदियुगमा गरुडले समाती ल्याएका नागले गरुडको हातबाट छुटी पशुपतिनाथको शरणमा आएका र तप गरेपछि पशुपतिनाथ खुसी भई वासुकीलाई यसै स्थानमा बस्न लगाएको भन्ने लोकोक्ति छ । वासुकीमन्दिरको विषयमा छुट्टै स्पष्ट अभिलेखहरू छैनन् र पनि केशर पुस्तकालयस्थित जीर्ण वंशावलीमा गुणकामदेवले वासुकीमन्दिरमा तामाले छानो छाएको कुरा उल्लेख छ । यस्तै उल्लेख देवमालावंशावलीमा पनि भेटिन्छ । गुणकामदेवको समय वि.सं १०३७ देखि १०५५ हो । यसैले यो मन्दिर यसभन्दा पूर्वकै मान्नुपर्छ । विं.सं. १४६९ को ज्योर्तिमल्लको पशुपतिमा भएको अभिलेखमा वासुकीको चर्चा भएको देखिन्छ । वि.सं. १५२५ को पशुपतिको ताम्रपत्रमा पनि वासुकीमन्दिरको नाम छ । वि.सं. १५२७ माघको नारायण भट्टको पशुपतिस्थित शिलापत्रमा पशुपतिनाथको प्रार्थना गर्दै अन्य कुराको अतिरिक्त बासुकीले सहित भएका पशुपतिनाथलाई नमस्कार भनेर चर्चा गरिएको छ । यो मन्दिर पुनःनिर्माण प्रतापमल्लले गराए । मन्दिर नजिकै नारायणस्तोत्र कुँद्न लगाएको कुरा मन्दिरपेटीमा रहेको शिलालेखमा उल्लेख छ । अतः वर्तमान मन्दिर प्रतापमल्लकै पालामा वि.सं. १७०६ मा बनेको पुष्टि हुन्छ । मन्दिरको ढोकामा कलात्मक चाँदीका पाता राख्ने कार्य र रंगरोगन कार्य भने शाहराजाहरूबाट भएको हो । अस्तु