काठमाडौं । नेपाल मुद्रण उद्योग महासंघको आसन्न अधिवेशन विवादको घेरामा परेको छ। महासंघले आगामी असोज ३ गते अधिवेशन तथा साधारण सभा गर्ने घोषणा गरेपछि महासंघका संस्थापक जिल्ला संघका तत्कालीन अध्यक्षहरू नै त्यसको प्रक्रियाविरुद्ध उभिएका छन्।
संस्थापक अध्यक्षहरूले अधिवेशन आह्वानको प्रक्रियामाथि गम्भीर वैधानिक प्रश्न उठाउँदै विधानसम्मत प्रक्रिया नअपनाए अधिवेशन तथा साधारण सभामा सहभागी नहुने स्पष्ट संकेत दिएका छन्।
संस्थापक अध्यक्षहरूले जारी गरेको कडा अपीलमा वर्तमान अवस्थामा महासंघको नियमित अधिवेशन गर्ने वैधानिक अवस्था नरहेको दाबी गरिएको छ। उनीहरूले विधानमा रहेको विशेष व्यवस्थाअनुसार विशेष साधारण सभा बोलाएर मात्र महासंघको संकटको निकास खोज्नुपर्ने माग गरेका छन्।
महासंघका जिम्मेवार व्यक्तिहरूबाटै सामाजिक सञ्जालमा अधिवेशन तथा साधारण सभा आह्वानको प्रक्रियामाथि वैधानिक प्रश्न उठिरहेको अवस्थामा त्यसलाई बेवास्ता गर्दै अधिवेशन अघि बढाउनु गम्भीर विषय भएको संस्थापक अध्यक्षहरूको भनाइ छ। झन् गम्भीर कुरा, महासंघको जग निर्माण गर्ने संस्थापक जिल्ला संघका तत्कालीन अध्यक्षहरूसँग समेत कुनै छलफल वा सरसल्लाह नगरी अधिवेशनको प्रक्रिया अघि बढाइएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।
“संस्थाको हितका लागि हुने हरेक निर्णय वैधानिक, विधानसम्मत र पारदर्शी हुनुपर्छ,” संस्थापक अध्यक्षहरूले भनेका छन्।
१० वटा विधिवत् दर्ता भएका जिल्ला संघबाट सुरु भएको महासंघलाई पहिलो र दोस्रो कार्यकालमै करिब ३० जिल्लासम्म विस्तार गर्न सफल भएको स्मरण गर्दै संस्थापक अध्यक्षहरूले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दा महासंघ अझ बलियो र देशव्यापी बन्ने अपेक्षा गरेको बताएका छन्।
तर, उनीहरूको दाबीअनुसार नेतृत्व हस्तान्तरणपछि महासंघको विस्तार हुनुको सट्टा जिल्ला संघहरूको संख्या घट्दै गएको छ। संस्था अपेक्षित गतिमा अगाडि बढ्न नसकेको भन्दै संस्थापक तहबाटै वर्तमान नेतृत्वप्रति असन्तुष्टि सार्वजनिक भएको हो।
संस्थापक अध्यक्षहरूले विधानविपरीत प्रक्रिया अघि बढाएर गरिने अधिवेशनले महासंघलाई दीर्घकालीन वैधानिक संकटमा पार्न सक्ने चेतावनी दिएका छन्।
उनीहरूको स्पष्ट भनाइ छ— विशेष साधारण सभामार्फत वैधानिक निकास नखोजी अघि बढाइने कुनै पनि प्रक्रियामा सहभागी हुनुको औचित्य छैन। यसले महासंघको आसन्न अधिवेशनमा संस्थापक तहबाटै बहिष्कारको अवस्था सिर्जना हुने देखिएको छ। महासंघको नेतृत्वले तत्काल संस्थापक पक्षसहित सम्बन्धित सरोकारवालासँग छलफल नगरे अधिवेशनको वैधानिकता र चुनावी प्रक्रियामाथि थप प्रश्न उठ्ने सम्भावना देखिएको छ।
महासंघको नेतृत्व चयनका लागि तय गरिएको अधिवेशनभन्दा अगाडि नै संस्थापक अध्यक्षहरूबाट आएको यो कडा चेतावनीले मुद्रण महासंघभित्रको विवाद सतहमै ल्याइदिएको छ। अब महासंघको नेतृत्वले संस्थापक अध्यक्षहरूको माग सम्बोधन गर्दै प्रक्रिया सच्याउँछ वा विवादकै बीच अधिवेशन अघि बढाउँछ भन्ने विषयले मुद्रण क्षेत्रको ध्यान तानेको छ।
अपीलमा काठमाडौंका प्रेम कुमार उपाध्याय, मोरङका कृष्ण पोखरेल, झापाका गणेश श्रेष्ठ, सिन्धुलीका शेषराज दाहाल, ताप्लेजुङका सन्तोष खतिवडा, कञ्चनपुरका नरसिंह धामी, कैलालीका महेश दाहाल र बाँकेका ज्योतिलाल भण्डारीलगायत संस्थापक जिल्ला संघका तत्कालीन अध्यक्षहरूको हस्ताक्षर रहेको छ।


















