पुस्तिकामा हिसाब नमिलेको सही हो, कूल बजेटमा फरक छैन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमै रकमको हिसाब नमिलेको स्वीकार गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तर्फबाट बजेटको विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यो विषय स्वीकार गरेका हुन् ।

सूचना प्रविधि विभाग र राष्ट्रिय साइबर सुरक्षा केन्द्रको पुँजीगततर्फ मन्त्रालयगत बजेट सूचना प्रणाली एक्सएल सिटमा लुकेको स्वीकार गरे । ‘सूचना प्रविधि विभाग र राष्ट्रिय साइबर सुरक्षा केन्द्रको पुँजीगततर्फ मन्त्रालयगत बजेट सूचना प्रणाली एलएमबीआईएसमा विनियोजित कार्यक्रम एक्सल सिटमा लुकेको र रोहरू हाइड हुँदा प्रकाशन हुन गएको विकास कार्यक्रम पुस्तिकामा नदेखिएको सही हो,’ ’ वाग्लेले स्वीकार गर्दै भने ।

कूल विनियोजित बजेटमा फरक नपरेको जानकारी पनि उनले गराए । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले बजेट किताबमा विनियोजन गरिएको रकमो हिसाबहरुमै त्रुटि रहेको भन्दै छलफलका क्रममा प्रश्न उठाएका थिए । ‘मैले हिसाबहरु थुप्रै नमिलेको देखें,’ उनले भनेका थिए, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जुन ब्रेक डाउन छ त्यसमा पूरा बजेटको ब्रेक डाउन छैन ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बजेटमै रकमको हिसाब नमिलेको पनि उनले औंल्याए । ‘पाना नम्बर १६ मा जानुभयो भने बजेट नम्बर ३०१०९०११ मा कुल पुँजीगतमा ११०६.४३ लेखिएको छ । तर जोड्दा खेरि ११०३.४३ मात्रै आउँछ,’ राइले भनेका थिए ।

यस्तौ समस्या पाना पाना नम्बर २० र २१ मा पनि समस्या रहेको भनेर देखाएका थिए । ‘.. चालु लेखिएकोमा ६४ छ । रियल जोड्दा खेरि ट्याली गर्नुहोस् त्यहाँ ५३.५८ आउँछ,’ राईले भने, ‘त्यसैगरी पाना नम्बर १९ को पुँजीगतमा ११०६ र पाना नम्बर ११ को चालुमा ६४ लेखेको छ । यो दुईवटा जोड्दा १७२९.५ भयो भनिएको छ । यसरी गलत ट्यालीहरु छन् ।’

अध्यक्ष साम्पाङले अन्य पानाहरूमा समेत हिसाबकिताब नमिलेको भनेर देखाए । ‘पाना नम्बर २७ र २८ मा टोटल गर्नुभयो फरक देखिन्छ । टोटल लेखिएको छ १५३ तर त्यहाँ जोड्नुभयो भने १४३ मात्रै आउँछ’ साम्पाङले प्रश्न गरे, ‘यसरी यो क्लियरिकल मिस्टेक हुनु भनेको ठूलो गल्ती हो । यो नियतवश गरिएको छ या भुलवश भएको छ ?’

‘बजेटको अंककणितमै हामी फेल भइराखेका छौं भने हामीले पोलिसी बनाउन सक्दैनौं,’ सरकारलाई उनको प्रश्न थियो, ‘एकमा एक जोड्दा दुई हुनुपर्नेमा तीन लेखियो भने यो के खालको क्लियरिकल मिस्टेक हो ?’