राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र गुटउपगुट बन्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । भर्खरै सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै लामिछानेले गुटउपगुटले सही परिणाम नदिने बताएका हुन् ।‘साथीहरू हामीसँग पनि गुटउपगुट यस्तै रह्यो भने हामीबाट आउने परिणाम पनि उस्तै हुन्छ । फरक आउँदैन,’ लामिछानेले भने, ‘फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ ।’
जसले जिते पनि घण्टीबाहक जित्छ भन्ने आफूलाई विश्वास रहेको बताउँदै उनले आफू कसैको पक्षमा नरहेर ‘आइसोलेट’ बसेको पनि दाबी गरे ।केन्द्रीय समितिमा जाने मानिस विवेकपूर्ण रूपमा छनोट गर्न महाधिवेशन प्रतिनिधिलाई उनले आग्रह गरे ।
‘तपाईँले आफू कसलाई भोट हाल्नुहुन्छ, तपाईँको कुरा हो,’ सभापति लामिछानेले भने, ‘तर, यसलाई भोट दिनु उसलाई नदिनु भन्ने व्यक्ति रास्वपा होइन ।’


















