काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध नेपाली रुपैयाँ, अमेरिकी डलर, सुन र चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत जिल्ला साङ्गली महाराष्ट्र तासगाव तालुका झारखण्ड घर भई हाल काठमाडौँ महानगरपालिका–२५ ठहिटी बस्ने ३३ वर्षीय अमितइरगोन्डा घाली रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
उनले भने, “काठमाडौँको ज्याठा ठहिटी एरियामा केही व्यक्तिले अवैध विदेशी विनिमय अमेरिकी डलर र राजस्व छली गरी सुन, चाँदी ओसारपसार, भण्डारण तथा बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा हाम्रो टोलीले उनलाई पक्राउ गरेको हो ।”
निजको साथबाट नेपाली रु सात लाख ३० हजार, अमेरिकी डलर जम्मा ३४ हजार ५००, सुन जस्तो देखिने पहेँलो धातुका विभिन्न टुक्रा १७ थान, ९तौल ७५ ग्राम० तथा चाँदी जस्तो देखिने धातु विभिन्न आकारका टुक्रा दुई किलो ६०० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका निज घालीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुर पठाइएको प्रवक्ता कार्कीले बताए।


















