धानबालीको मुख्य सिजनलाई लक्षित गर्दै सरकारले आगामी साउन महिनाभित्र करिब दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ।
किसानलाई मल अभाव हुन नदिन कृषि, वन तथा वातावरण मन्त्रालयले विभिन्न माध्यमबाट आयात प्रक्रिया तीव्र बनाएको जनाएको छ। मन्त्रालयका अनुसार सरकार-सरकार (जिटुजी) सम्झौताअन्तर्गत भारतबाट आयात हुने ३० हजार मेट्रिकटन युरिया मल साउनको दोस्रो सातासम्म नेपाल आइपुग्नेछ। यसले धान खेतीका लागि आवश्यक मल आपूर्तिमा सहजता ल्याउने विश्वास गरिएको छ।
यस्तै, अन्तरराष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत थप एक लाख ८० हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने प्रक्रिया अघि बढाइएको छ। यसमध्ये ६० हजार मेट्रिकटन डिएपी र एक लाख २० हजार मेट्रिकटन युरिया मल रहने मन्त्रालयले जनाएको छ। मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तरराष्ट्रिय बजारमा रासायनिक मलको उपलब्धता प्रभावित भइरहेका बेला पनि किसानलाई समयमा मल उपलब्ध गराउने लक्ष्यसहित सरकारले आयात व्यवस्थापन गरिरहेको मन्त्रालयको भनाइ छ। चालु आर्थिक वर्षमा हालसम्मकै बढी परिमाणमा रासायनिक मल आयात गर्ने लक्ष्य सरकारले लिएको छ।
मन्त्रालयले मल वितरणमा कालोबजारी, कृत्रिम अभाव वा अन्य अनियमितता भए तत्काल जानकारी गराउन किसानसँग आग्रह गरेको छ। यसका लागि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने हटलाइन नम्बर ९७०००९९११३ तथा क्यूआर कोडमार्फत गुनासो दर्ता गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।



















