परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भू-भागमा प्रवेश गर्न पुगेको स्पष्ट पारेका छन्। बुधबार संघीय संसद् राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खनालले दार्चुला जिल्लामा भएको उक्त घटनामा कुनै नियोजित वा गलत मनसाय नदेखिएको बताए। उनका अनुसार मौसम प्रतिकूल भएकै कारण हेलिकप्टर सीमावर्ती नेपाली क्षेत्रमा प्रवेश गरेको हो र यस विषयमा दुवै देशका सम्बन्धित निकायबीच आवश्यक सम्पर्क तथा समन्वय भइरहेको छ। मन्त्री खनालले घटनालाई अनियोजित भएको दाबी गर्दै त्यस क्षेत्रको भौगोलिक अवस्था र मौसमका कारण यस्तो स्थिति सिर्जना भएको स्पष्ट पारे।
बैठकमा उनले नेपाल-भारत व्यापारिक सम्बन्धमा देखिएका केही चुनौतीबारे पनि सरकार गम्भीर रहेको बताए। विशेषगरी सुपारी निर्यातमा देखिएको समस्या समाधानका लागि पहल भइरहेको उनले जानकारी दिए।
त्यस्तै, नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटाउन सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको उल्लेख गर्दै उनले भारतका वाणिज्य तथा उद्योग मन्त्रालय, खाद्य सुरक्षा निकाय र चिया बोर्डका उच्च अधिकारीहरूसँग समन्वय भइरहेको बताए। मन्त्री खनालका अनुसार परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली दूतावासमार्फत निरन्तर संवाद जारी राखिएको छ, र सरकारले निर्यात व्यापार सहज बनाउन कूटनीतिक पहललाई तीव्र बनाएको छ।



















