राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत संगठनात्मक प्रतिवेदनमा १८ वर्षमुनिका ३५ हजार २६७ जना सदस्य रहेको भन्ने विषयमा सार्वजनिक भएका समाचारप्रति स्पष्टिकरण जारी गर्दै उक्त तथ्यांक अन्तिम सदस्यता नभई प्रारम्भिक आवेदन (Raw Data) मात्र भएको जनाएको छ।
रास्वपाले बुधबार जारी गरेको विज्ञप्तिमा नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, बालबालिका सम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई पार्टी सदस्य बनाउने नीति, अभ्यास वा उद्देश्य नरहेको स्पष्ट पारेको छ।
पार्टीका अनुसार डिजिटल सदस्यता प्रणालीमा आवेदन (Application), प्रमाणीकरण (Verification) र अन्तिम स्वीकृति (Approval) तीन फरक चरण हुन्। वेबसाइटमार्फत जो-कोहीले आवेदन दिन सक्ने भए पनि उमेर, नागरिकता तथा अन्य आधिकारिक कागजातको प्रमाणीकरण पूरा नभएसम्म सदस्यता स्वीकृत हुँदैन। महाधिवेशनमा प्रस्तुत गरिएको तथ्यांक स्वघोषित आवेदन विवरण (Self-declared Application Data) मा आधारित रहेको र त्यो प्रमाणित सदस्यहरूको आधिकारिक अभिलेख (Verified Membership Record) नभएको रास्वपाले जनाएको छ।
विज्ञप्तिअनुसार केही आवेदनमा वि.सं.–ई.सं. मिति सम्बन्धी त्रुटि, जन्ममिति टाइप गर्दा भएको गल्ती तथा हालको मितिलाई जन्ममिति प्रविष्ट गरिएकाले प्रणालीमा वास्तविकभन्दा कम उमेर देखिएको प्रारम्भिक विश्लेषणबाट खुलेको छ। रास्वपाका अनुसार हाल डिजिटल प्रणालीमा कुल ५ लाख २३ हजार ४५६ सदस्यता आवेदन दर्ता भएका छन्। तीमध्ये ३ लाख ९० हजार ३१२ आवेदन नागरिकतालगायतका आधिकारिक कागजातका आधारमा प्रमाणीकरण भइसकेका छन् भने बाँकी आवेदन प्रमाणीकरण प्रक्रियामै छन्। प्रमाणीकरण नभएका आवेदनलाई अन्तिम तथा आधिकारिक सदस्यता अभिलेखका रूपमा लिन नमिल्ने पार्टीको भनाइ छ।
यस विषयलाई गम्भीरतापूर्वक लिएको रास्वपाले सदस्यता प्रणालीको प्राविधिक तथा प्रशासनिक समीक्षा सुरु गरेको जनाएको छ। अबदेखि १८ वर्षभन्दा कम उमेर देखिने आवेदनलाई प्रणालीले स्वतः पहिचान गरी सदस्यता स्वीकृतिको प्रक्रियामा अघि बढ्न नदिने व्यवस्था लागू गरिने, प्रमाणीकरण भइसकेका अभिलेखको पुनः परीक्षण (Re-validation) गरिने तथा गलत रूपमा स्वीकृत भएको सदस्यता भेटिए तत्काल खारेज गरिने जनाएको छ।
त्यस्तै, विक्रम संवत् र इस्वी संवत् मिति प्रविष्टिसम्बन्धी त्रुटि न्यूनीकरणका लागि थप प्राविधिक सुरक्षा र प्रयोगकर्ता मार्गदर्शन (User Guidance) लागू गरिने तथा बाँकी सबै आवेदन आधिकारिक कागजातका आधारमा पुनः परीक्षण गरी अद्यावधिक सदस्यता अभिलेख तयार गरिने पनि रास्वपाले जनाएको छ।
रास्वपाले प्रारम्भिक आवेदन विवरणमा आधारित कच्चा तथ्यांक महाधिवेशनको सार्वजनिक प्रतिवेदनमा समावेश हुँदा आमनागरिक, सञ्चारमाध्यम तथा सरोकारवालामा अन्योल सिर्जना भएकोप्रति दुःख व्यक्त गर्दै आवश्यक संशोधनपछि यथार्थपरक र अद्यावधिक विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ।





















