प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रसारण प्राविधिक समस्याका कारण अवरुद्ध भएको छ। संघीय संसद सचिवालयका अनुसार इन्टरनेट सेवा प्रभावित भएपछि बैठकको लाइभ प्रसारण अस्थायी रूपमा रोकिएको हो।
सचिवालयका सहसचिव दशरथ धमलाले प्राविधिक समस्या समाधानका लागि मर्मत कार्य भइरहेको र छिट्टै प्रत्यक्ष प्रसारण पुनः सञ्चालन हुने जानकारी दिएका छन्। प्रतिनिधि सभा बैठक बिहान ११ बजेदेखि जारी छ। आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउने कार्यसूची रहेको छ।
त्यसैगरी, बैठकले सार्वजनिक खरिद विधेयक, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण विधेयक, सहकारी विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने कार्यसूची पनि समेटेको छ।



















