चलचित्र विकास बोर्डमाथि लापरबाहीको आरोप, ‘सहमति नै नगराई सेन्सर प्रक्रिया अघि बढाइयो’

चलचित्र निर्देशक हिमाल उप्रेती र कार्यकारी निर्माता डिलकुमारी नेपालले चलचित्र विकास बोर्डले आफूहरूको निवेदनमाथि आवश्यक छलफल र सहमति नगराई चलचित्रलाई सेन्सर प्रक्रियामा पठाएको भन्दै गम्भीर असन्तुष्टि जनाएका छन्। पीडित पक्षका अनुसार चलचित्रका निर्माता विश्वराम बिष्टसँग चलचित्र निर्माण तथा व्यवस्थापनसम्बन्धी सहमति भए पनि त्यसको पालना नभएको, आफूहरूले गरेको कामको खर्चसमेत नतिरी उल्टै चरित्रहत्या गरिएको आरोप लगाइएको छ। निर्देशक उप्रेतीले निर्माता बिष्टकै निर्देशन र सहमतिका आधारमा कार्यकारी निर्माता नेपालले दुई वर्षसम्म चलचित्रमा काम गरेको दाबी गरेका छन्।

कार्यकारी निर्माता नेपालले निर्माता संघको सहमति तथा आवश्यक प्रक्रिया पूरा गरेर काम गरे पनि अहिले आफूलाई अभद्र व्यवहार गरिएको र चलचित्रको विषयलाई लिएर ज्यान मार्ने धम्कीसम्म दिइएको आरोप लगाएकी छन्। उनका अनुसार बाघबजार बोलाएर “टाउको काटिदिन्छु” भन्ने धम्की दिइएपछि विवाद थप चर्किएको हो। उनीहरूले चलचित्र विकास बोर्डमा चलचित्रको सेन्सर प्रक्रिया रोक्न माग गर्दै निवेदन दिएका थिए। तर बोर्डले दुवै पक्षबीच औपचारिक छलफल तथा लिखित सहमति नगराई चलचित्रलाई सेन्सर प्रक्रियामा पठाएको आरोप लगाएका छन्। यसलाई बोर्डको गम्भीर लापरबाही र अधिकारको दुरुपयोग भएको उनीहरूको दाबी छ।

पीडित पक्षले बोर्ड अध्यक्ष दिनेश डिसी र सम्बन्धित पदाधिकारीहरूले विवाद समाधानमा आवश्यक पहल नगरेको, निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको तथा आफूहरूको गुनासोलाई बेवास्ता गरेको आरोप पनि लगाएका छन्। उनीहरूले बोर्डभित्र हुने छलफल प्रक्रिया पारदर्शी नभएको र छलफल गराए जस्तै मात्र गरि कुनै माईनट समेत नउठाई निर्णय गरिएको दाबी गरेका छन्।

यता, बोर्ड अध्यक्ष दिनेश डिसीले भने आफूहरूले कानुनी प्रक्रिया अनुसार नै काम गरेको र कानुनी आधारबिना लगाइएका आरोप स्वीकार गर्न नसकिने बताएका छन्। बोर्डका एक अधिकारीले पनि आवश्यक कागजात भए पनि केही निजी विवादका कारण समस्या उत्पन्न भएको हुन सक्ने प्रतिक्रिया दिएका छन्।

पीडित पक्षले चलचित्रको सेन्सर प्रक्रिया तत्काल रोक्न, विवादको निष्पक्ष छानबिन गर्न तथा सूचना तथा सञ्चार मन्त्रालयले घटनाबारे आवश्यक निगरानी गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।