प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले महत्त्वपूर्ण १० निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई सरुवा गर्ने निर्णय गरेको छ ।
बैठकले संलग्न सामुद्रिक कानुनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता (बीबीएनजे) अनुमोदनका लागि संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले शिक्षा (दसौँ संशोधन) नियमावली, २०८३ पनि स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताए । राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गर्ने पनि निर्णय गरिएको छ ।
मन्त्रिपरिषद्को बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयकलाई संघीय संसदसमा पेस गर्न स्वीकृति दिएको छ ।
त्यसैगरी, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ । कमैया श्रम (निषेध गर्ने) सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरिएको छ ।



















