कांग्रेसका तीन पूर्वपदाधिकारीबीच छलफल, १५ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड

नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधि, उपसभापति प्रकाशमान सिंह र पूर्वमहामन्त्री डा. शशांक कोइरालाबीच समसामयिक राजनीति तथा पार्टीको आन्तरिक अवस्थाबारे छलफल भएको छ। मध्यबानेश्वरस्थित नेता निधिको निवासमा भएको भेटवार्तामा राष्ट्रिय राजनीतिक घटनाक्रम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन तथा कांग्रेसभित्र विकसित पछिल्ला गतिविधिबारे विस्तृत कुराकानी भएको निकट स्रोतले जनाएको छ। छलफलका क्रममा रास्वपाको महाधिवेशनबाट प्रदेशसभा खारेजसम्बन्धी प्रस्ताव पारित भएको विषयप्रति तीनै नेताले चासो व्यक्त गरेका छन्।

कांग्रेसको आन्तरिक राजनीतिका विषयमा भने आगामी १५ औं महाधिवेशनलाई पार्टी एकताको आधार बन्नुपर्ने साझा धारणा बनेको बताइएको छ। संस्थापन पक्षले नियमित महाधिवेशन पक्षधर नेताहरूलाई समेटेर अघि बढ्नुपर्ने तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अघि सारेका प्रस्तावमाथि सकारात्मक ढंगले छलफल गर्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको स्रोतको भनाइ छ। भेटमा संस्थापनइतर पक्षले काठमाडौंको चुनदेवीमा सञ्चालन गर्न लागेको सम्पर्क कार्यालय महाधिवेशन केन्द्रित गतिविधिलाई व्यवस्थित गर्नका लागि रहेको विषयमा पनि छलफल भएको बताइएको छ।

यसैबीच, संस्थापनइतर पक्षले सातै प्रदेशका भेला सम्पन्न गरिसकेको उल्लेख गर्दै अब राष्ट्रिय भेला आयोजना गर्ने तयारीलाई अघि बढाउनुपर्ने समीक्षा पनि नेताहरूले गरेका छन्। स्रोतका अनुसार बिहीबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा शीर्ष नेताहरूको बैठक बोलाइएको छ। उक्त बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने र महाधिवेशन केन्द्रित आगामी रणनीतिबारे निर्णय गर्ने अपेक्षा गरिएको छ।