सरकारको सय दिन सफल रहेको रवि लामिछानेको दाबी

सरकार गठनको सय दिन पूरा हुन लाग्दा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको प्रारम्भिक कार्यकाललाई सुशासन र नागरिक सेवाको दृष्टिले सकारात्मक रहेको बताएका छन्।

सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सरकारले नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने सेवा सुधार र सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको दाबी गरे। लामिछानेका अनुसार सरकारी सेवा प्रवाहलाई सहज, छरितो र झन्झटरहित बनाउन डिजिटल प्रणाली विस्तार, सेवा प्रक्रियाको सरलीकरण तथा होम डेलिभरी सेवाको सुरुवातजस्ता कामले राम्रो संकेत दिएको छ। यी प्रयासले राज्यप्रति नागरिकको विश्वास बढाउने आधार तयार गरेको उनको भनाइ थियो।

उनले विकास निर्माणका ठूला आयोजना र दीर्घकालीन योजनाको प्रभाव तत्काल देखिन नसक्ने भए पनि पूर्वाधार क्षेत्रमा तीन वर्षे कार्ययोजना बनाएर काम अघि बढाइएको जानकारी दिए। तत्काल परिणाम दिने कामसँगै दीर्घकालीन उपलब्धि हासिल गर्ने योजनाहरू पनि समानान्तर रूपमा अघि बढिरहेको उनले बताए। सरकारको सय दिने कार्यसम्पादनलाई सञ्चारमाध्यम, नागरिक समाज र नीति विश्लेषकहरूले नजिकबाट मूल्याङ्कन गरिरहेको उल्लेख गर्दै लामिछानेले आउने रचनात्मक सुझाव तथा आलोचनालाई सरकारले गम्भीर रूपमा अध्ययन गर्ने बताए। कमजोरी औँल्याइए त्यसलाई सुधारको अवसरका रूपमा ग्रहण गर्दै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

लामिछानेले समग्रमा सरकारको पहिलो सय दिनले सुशासनको आधार निर्माण गर्दै नागरिकका दैनिक समस्यालाई सम्बोधन गर्ने दिशामा सकारात्मक सुरुवात गरेको दाबी गरे। यद्यपि, विस्तृत समीक्षा भने सय दिनपछि सार्वजनिक हुने प्रतिक्रिया र मूल्याङ्कनका आधारमा गरिने उनले स्पष्ट पारे।