गगन थापाको आरोप : सरकारले ‘लाइफ’ होइन ‘लाइक’लाई प्राथमिकता दियो

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारको १०० दिने कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। कांग्रेसले आयोजना गरेको ‘सरकारका १०० दिन र १०० बुँदे कार्यक्रम’ मा बोल्दै थापाले सरकारले जनजीवन (लाइफ) भन्दा सामाजिक प्रतिक्रिया (लाइक) लाई बढी महत्त्व दिएको आरोप लगाए। उनका अनुसार सरकार निर्णय प्रक्रियामा नागरिकको जीवनमा पर्ने प्रभावबारे पर्याप्त विचार नगरी लोकप्रियतामुखी निर्णयतर्फ केन्द्रित भएको देखिन्छ। थापाले भने, “वर्तमान सरकारले १०० दिनमा लाइफभन्दा लाइकलाई महत्त्व दिएको छ। निर्णय गर्दा त्यसले जनजीवनमा के असर गर्छ भन्नेभन्दा कति लाइक आउँछ भन्ने सोच देखियो।”

उनले सरकारलाई परिणाममुखी भए पनि कानुनी प्रक्रिया र विधि नउल्लङ्घन गर्न चेतावनीसमेत दिए।सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगप्रति कांग्रेस सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै थापाले सबै प्रक्रिया कानुनअनुसार हुनुपर्नेमा जोड दिए। उनले कार्यकारी आदेशका भरमा निर्णय गर्ने प्रवृत्तिप्रति पनि प्रश्न उठाउँदै विधि र प्रक्रिया नै लोकतान्त्रिक शासनको आधार हुनुपर्ने धारणा राखे।